काठमाडौं । पछिल्लो समय संकट टार्नका लागि जलविद्युत कम्पनीहरुले धमाधम हकप्रद सेयर निष्काशनको बाटो रोज्न थालेका छन् । कोरोना महामारी, बैंक तथा वित्तीय संस्थाहरुको उच्च ब्याजदर र जलवायु परिवर्तनले गर्दा समस्यामा परेका जलविद्युत कम्पनीहरु हकप्रद सेयर जारी गरी संकट टार्न खोजिरहेका छन् ।
साथै, निर्माणाधीन जलविद्युत आयोजना अन्तिम चरणमा पुगेका बेलामा तरलता अभाव भएपछि रकम संकलन गर्नका लागि पनि हकप्रद सेयरको बाटो रोज्न थालेको जलविद्युत लगानीकर्ताहरु बताउँछन् । जलविद्युत कम्पनीहरुले पूँजी बजारको माध्यमबाट हकप्रद सेयर बिक्री गरी संकलन भएको रकमले बैंकको ब्याज तिर्ने र बाँकी रकम अन्य आयोजनामा लगानी गर्ने तयारी थालेका हुन् ।
आयाजना निर्माण सम्पन्न गर्नका लागि रकम नपाएपछि सेयर बजारबाट हकप्रद सेयर जारी गरी रकम उठाउने जलविद्युत व्यवसायीहरुले तयारी गरेका हुन् । जसमध्ये अधिकांश कम्पनीहरु बैंकको ब्याज तिर्नैका लागि हकप्रद सेयर निष्काशन गर्न लागेका छन् ।
लिवर्टी ईनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले बैंकको ब्याज तिर्नका लागि हकप्रद सेयर बिक्री गर्न लागेको बताएको छ । साढे ३ अर्ब रुपैयाँ अनुमानित लागत रहेको ‘दोर्दी ए’ परियोजना सम्पन्न हुँदा ५ अर्ब पुगेको थियो । सन् २०१९ र सन् २०२१ मा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि लागत बढेको थियो । निर्माण लागत बढेको कारण कम्पनीले पुनः सर्वसाधारण लगानीकर्ताबाटै रकम उठाएर बैंकको ब्याज तिर्ने योजना कम्पनीले बनाएको हो ।
कोरोना महामारी र बाढी पहिरोका कारण थला परेकाले बैंकबाट ऋण उठाउने र सर्वसाधारणबाट हकप्रद सेयरमार्फत् रकम संकलन गर्न लागिएको पूर्व सञ्चालक राम बहादुर पाण्डेयले बताए । कम्पनीले ‘दोर्दी ए’ आयोजना निर्माणका लागि बैंकबाट ३ अर्ब रुपैयाँ कर्जा लिएको थियो । सो कर्जाको १२÷१३ प्रतिशतसम्म ब्याजदर तिरिरहेको उनले बताए । बैंकको ब्याजसहित आयोजनाको लागत बढेर ५ अर्बको हाराहारी पुगेको उनको भनाइ छ । उनका अनुसार गत मंसिरमा बत्ति बाल्न थालेपछि आयोजनाबाट उत्पादन भएको विजुली बिक्री गरेको आम्दानीले अहिले बैंकको कर्जा तिरिरहेको छ ।
कम्पनीका अध्यक्ष डा.आत्माराम घिमिरेले हकप्रद सेयर निष्काशन गरेर ऋणको ब्याज तिर्ने बताए । ‘सुख्खा सिजनमा पनि १५/२० प्रतिशत विद्युत उत्पादन भइरहेको छ, बाढीका कारण मात्रै आयोजना बिग्रिएको हो, हामीले नियन्त्रण गर्न नसक्ने भएकाले पनि ठूलो क्षति पुर्यायो, बैंकको ब्याजले पनि सताएको थियो, अब बैंकको ब्याज पनि धमाधम तिरिरहेका छौं,’ उनले भने, ‘बैंकबाट ऋण उठाउने तयारी छ, कम्पनीले २०९२ साल सम्ममा बैंकको ऋण चुक्ता गर्ने लक्ष्य छ ।’
कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले हकप्रद सेयर जारी गरेपश्चात् चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।
यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ २२ गतेदेखि १ कित्ता सेयर बराबर ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर बिक्री गरिरहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोडको १ अर्ब २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको कर्जा तिर्ने योजना बनाएको छ । बैंक तथा वित्तीय संस्थाको सावाँ र ब्याज रकम ७ करोड २० लाख १७ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यस्तै, शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ कित्ता सेयर बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको बताएको छ । यस आयोजनाको कूल लागत रकम ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार रुपैयाँ र प्रति मेगावाट लागत रकम २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यस्तै, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्न र काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हकप्रद सेयर प्रस्ताव पारित गर्न विशेष साधारणसभा असार ७ गते बोलाएको छ ।
यस्तै, आँखुखोला जलविद्युत कम्पनीले पनि हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट समेत अनुमति पाइसकेको छ । कम्पनीले हकप्रद सेयर प्रस्ताव पारित गर्न असार ७ गते विशेष साधारण सभा बोलाएको छ ।
यस्तै, सिंगटी हाइड्रो इनर्जीले १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समिति बैठकले अन्य जलविद्युत आयोजनामा लगानी तथा ऋण चुक्ता गर्न हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । साथै, कम्पनीले हकप्रद सेयर प्रस्ताव पारित गर्न असार १३ गते वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले २ वर्ष अघि मात्रै आईपीओ जारी गरेको थियो ।
यस्तै, घलेम्दी हाइड्रोपावर कम्पनीले पनि हकप्रद सेयर निष्कासन गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीको नवौं वार्षिक साधारणसभाले १ः२ अनुपात अर्थात् २ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको हाल चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ ।
यस्तै, हिमालय उर्जा विकास कम्पनीले १ः१ अनुपातामा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद निष्काशन गर्नेछ । कम्पनीको हकप्रद प्रस्ताव वार्षिक साधारण सभाले पारित गरिसकेको छ । कम्पनीको हालको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ ।
यस्तै, रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिइसकेको छ । कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न आयोगले स्वीकृति प्रदान गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले हाल कायम रहेको सेयर संख्या १ अर्ब ५४ करोड ८९ हजार १२ कित्ता सेयर बराबर ०.५० सेयर अर्थात् १ कित्ता बराबर ०.५० कित्ताका दरले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद सेयर प्रस्ताव पारित गर्न असार ८ गते विशेष साधारण सभा बोलाएको छ ।
यस्तै, छ्याङ्दी हाइड्रोपावरले १ सय प्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीको हाल कायम चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसअघि पनि ३० प्रतिशतका दरले ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।
यस्तै, बलेफी हाइड्रोपावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८२ करोड रुपैयाँ १ बराबरको ०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले बैंकको ऋण तिर्न अर्थात् चुक्ता गर्नको लागि हकप्रद जारी गर्न लागेको कम्पनी अध्यक्ष उमेश कसजुले बताए । कम्पनीले २ वर्ष अघि मात्रै १८ लाख २७ हजार ९७० कित्ता सेयर आईपीओ बिक्री गरेको थियो ।
यस्तै, अपि पावर कम्पनीलाई विद्युत नियमन आयोगले चुक्ता पूँजी ४ अर्ब १३ करोड १५ लाख रुपैयाँको ४० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर ०.४० को दरले १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँको १०० रुपैयाँ अंकित मूल्य दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
यस्तै, अपर तामाकोशी हाइड्रोपावर कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरिसकेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ १ कित्ता सेयर बराबर १ सेयर अनुपातमा हकप्रद बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद निष्काशन गर्नेछ । कम्पनीका अनुसार ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्री गर्ने तयारी गरेको हो । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
यस्तै, अरुण काबेली पावरले शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद निष्काशन गर्नेछ । कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँको ५० प्रतिशत अर्थात् १ सय कित्ता सेयर बराबर नयाँ ५० कित्ता सेयर अनुपातमा हकप्रद निष्काशन गर्नेछ । कम्पनीका अनुसार ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८२ लाख २१ हजार ४५९ कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
स्वतन्त्र उर्जा उत्पादक संघका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं बैंकबाट कर्जा लिएपछि ब्याज र सावाँ तिर्नुपर्ने भएकाले हकप्रद सेयर जारी गर्नु परेको बताउँछन् । कुनै सञ्चालकले बदमासी गरेर, खाता सञ्चालन गर्न नजानेर, नियतवस बैंकको ब्याज तिर्ने नसक्ने अवस्थामा कम्पनीहरु पुगेको हुन सक्ने उनले बताए । अहिले हकप्रद सेयर जारी गरेर बैंकको ब्याज तिर्न हुँदैन भन्नु तर्कसंगत नरहेको उनको भनाइ छ ।
‘बैंकबाट कर्जा लिएपछि ब्याज र सावाँ तिर्नुपर्छ, लिमिटेड कम्पनी भएपछि कुनै सञ्चालकले मसँग पैसा छ, ब्याज र सावाँ तरिदिन्छु, त्यो वापतको ब्याज मलाई दिनु भन्ने व्यवस्था छैन, बैंकमा भएको रकम जनताको भएकाले बैंकबाट कर्जा लिएपछि ब्याज र सावाँ तिर्नुपर्छ,’ उनले भने, ‘जलविद्युत कम्पनीहरु विविध कारणले बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका हुन्, बैंकको किस्ता तिर्न वा साँवा घटाउन हकप्रद सेयर नै सबैभन्दा उत्तम उपाय हो, कम्पनीले आवश्यकता अनुसार हकप्रद सेयर जारी गरेर ब्याज तिर्नुबाहेक अरु कुनै विकल्प छैन ।’
बैंकको ब्याज तिर्न सक्दिन भनेर छुट नपाईने भएकाले जसरी पनि तिर्नुपर्ने उनले बताए । यदि ब्याज तिरेन भने कम्पनी लिक्वीडेसनमा जान सक्ने उनको भनाइ छ । उनका अनुसार कुनै समय एनएचपीसी कम्पनी डुबेको थियो । एनएचपीसीले मर्ज गरेर हकप्रद सेयर जारी गरेपछि मात्रै अब्बल भएर माथि उठेको उनले बताए । हकप्रद सेयर जारी नगरेर डुबेका कम्पनी धेरै रहेको उनले बताए ।
‘कम्पनी लिक्वीडेसनमा लैजाँदा बैंकलाई फाइदा हुन्छ की हकप्रद सेयर बिक्री गरेर फाइदा हुन्छ भनेर हेर्नुपर्छ, अहिले सेयर बजार घटेको छ बढेको बेला मात्रै हकप्रद जारी गर्नुपर्छ भन्ने हुँदैन, बैंकले राम्रो सिजन छैन भनेर छुट पनि दिँदैन, कम्पनीले ब्याज र साँवा तिर्न सकेन भने हकप्रद सेयर बिक्री गरेर भएपनि चुक्ता गर भनेर बैंकले भन्छ, यदि तिरेन भने बैंकले लिक्वडेसनमा लैजान्छ,’ उनले भने ।
अहिले केही कम्पनीहरुले हकप्रद जारी गरेनन् भने लगानी शुन्य हुन्छ । केही कम्पनीहरु नाजुक अवस्थाबाट गुज्रिरहेका छन् । अहिले कम्पनीलाइ जोगाउन पनि हकप्रद चाहिएको छ । अहिले हकप्रद जारी गर्यो भने केही कम्पनी जोगिन्छन् । सेयरधनीहरु पनि बाँच्छन् । हकप्रद जारी गरेन भने कम्पनी डुबेर बैंक पनि डुब्छ, अनि सेयरधनी पनि डुब्छन् । कुनै आयोजनामा थोरै पैसा नपुगेर प्रोजेक्ट पूर्ण हुँदैनन् । जलविद्युत कम्पनीमा बत्ति नबलेसम्म लगानी शुन्य नै हो । त्यसैले जलविद्युत कम्पनीहरुलाई जोगाउन जरुरी छ ।