कृषि बीमाको अनुदानबापत सरकारले दियो ७२ करोड, बाँकी किस्ता किस्तामा दिने

  २०८० जेठ २४ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदान बापत ७२ करोड रुपैयाँ निकासा गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले सरकारले अनुदान नदिएको भन्दै पोलिसी नै बन्द गरेपछि सरकारले पहिलो चरणमा सो मात्राको रकम निकाशन गर्ने भएको हो ।

सरकारले बजेटमार्फत कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत रकम अनुदान दिने घोषणा गरेको थियो । तर घोषणा गरेअनुसार सरकारले समयमै अनुदान नदिएपछि बीमा कम्पनीहरुले यो बीमा पोलिसी बिक्री बन्द गरेका थिए ।

सरकारले दिने भनेर घोषणा गरेर पनि नदिएको अनुदानमध्ये हाल करिब २५ प्रतिशत रकम मात्रै निकासा गर्ने भएको हो । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार सरकारले करिब ३ अर्ब अर्थात २ अर्ब ९४ करोड रुपैयाँ अनुदान दिन बाँकी थियो । जसमध्ये पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएसँगै अझै सरकारले २ अर्ब २२ करोड रुपैयाँ निकासा गर्न बाँकी छ ।

‘सरकारले पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएको छ, बाँकी रकम भने सक्दो छिटो सल्टाउने निर्णय भएको छ,’ अध्यक्ष चंकी क्षेत्रीले भने ।

उनका अनुसार सरकारले विभिन्न चरणमा रकम निकासा गर्ने छ । अब दोश्रो चरणको रकम आगामी साउनभित्रमा निकासा गर्ने सम्भावना बढी रहेको अध्यक्ष क्षेत्रीले बताए ।

त्यस्तै, हाल निकासा भएको उक्त रकम नेपाल बीमा प्राधिकरणको खातामा जाने र त्यसपछि मात्रै कम्पनीहरुलाई वितरण गरिने क्षेत्री बताउँछन् ।

चरणवद्ध रुपमा रकम निकासा भएपनि कम्पनीहरुले बन्द गरेका कृषि बीमाको पोलिसी बिक्री सुचारु गर्ने भएका छन् । तर पशुपन्छी बीमालेख भने तत्काल बिक्री नगर्ने संघको मनसाय छ ।

‘सरकारले दिनुपर्ने तीन अर्ब रुपैयाँ छ, अहिले ७२ करोडमात्रै आएको छ,’ सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले भने- ‘कृषि बीमा पोलिसी बिक्री खुलाइए पनि पशुको अहिले सकिन्न होला, यसमा संघले छलफल गरेपछि मात्रै थप निर्णय गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.