रोगको प्रकोपले म्याग्दीका किसान चिन्तित

  २०८० जेठ २४ गते १७:१५     विकासन्युज

गलेश्वर। खडेरीका कारण धानको बीउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानले लगाएको खेती र फलफूलमा रोग र कीराको प्रकोप देखिएपछि चिन्तित बनेका छन् ।

किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे गवाँरो र मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत बालीमा औंसा रोग लाग्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । मकैमा फैजी कीरो र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएको कृषक चन्द्रबहादुर कार्कीले बताए।

‘प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औंसा कीरोको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन्’, उनले भने । कार्कीका अनुसार किसानले लगाएको काँक्रा र पाकेका आरु, आरुपखडामा पनि औंसा कीरोको व्यापक सङ्क्रमण भेटिएको छ । उनले मकैबालीमा अमेरिकन फौजी कीरो र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको बताए ।

कीरो र रोगको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेत गराइएको कृषि प्राविधिकहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोही अनुसारको उपचार विधि र विषादी उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ ।

गोलभेँडामा लागेको ढुसी र डढुवाका कारण व्यावसायिक किसान मर्कामा परेको बाबियाचौरका हरिकृष्ण पौडलले बताए । ‘जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीरोले क्षति पुर्‍याएको छ’, उनले भने । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायत क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी कीरोको प्रकोप बढेको हो ।

घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीरोको आक्रमण बढे्काले बोट नै सक्न थालेको मङ्गलाका किसान टेकबहादुर विकले बताए । उनका अनुसार विषादीले समेत फौजी कीरोको आक्रमण रोकिन सकेको छैन ।

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायत स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीरोको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी ब्यहोर्न परेको बताए।

फौजी कीरोको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उनले बताए । ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी कीरोको आक्रमण बढेर बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि बढेको कृषि प्राविधिक बानियाँले बताए । ‘फौजी कीरोले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने गर्छ’, उनले भने ।

यसैगरी, जिल्लामा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोटहरु सुक्न थालेका छन् ।

बेनीनगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा रोगको प्रकोप देखिनुका साथै औषधि प्रयोग गर्दा पनि रोग कम नभई रातो कमिला देखिन थालेकोे बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए ।

बगरफाँटका कृषक बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको बताए । ‘यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको छ’, उनले भने ।

करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गरेका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए । हजारी जातको केरा खेतीबाट वार्षिक रू तीन लाख आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए ।

‘झ्याङ भएको केरामा कीरो र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ । त्यसपछि गुबो मर्छ र विस्तारै बोट मर्दै जान्छ’, कृषक थापाले भने । उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको उनको भनाइ थियो ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केरा खेती गर्दै आएका खबराका अर्का कृषक शोभित शर्माले बताए । ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थालेको छ,’ उनले भने ।

धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसानहरु धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन् । उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको मागसमेत गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.