‘सहकारीमा डाउनफल सकियो, रिकभरी हुँदैछ’

  २०८० जेठ २४ गते १६:१६     विकासन्युज

काठमाडौं । सहकारी संस्थाहरुको नियामक सहकारी विभागले सहकारीको समस्या विस्तारै सुधार हुँदै गएको बताएको छ । केही समययता सहकारीमा देखिएको विभिन्न समस्याहरु विस्तारै समाधानतर्फ गइरहेको उनीहरुले बताएका हुन् ।

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले अब सहकारीको डाउनफल सकिएको बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा बुधबार भएको सहकारीको समस्या र समाधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा सहकारीका समस्याहरु समाधानको बाटोमा रहेको बताएका हुन् ।

‘अहिलेको सकस कारोनाले छिटो आएको हो, कोरोना नआएको भएपनि सहकारीमा यो किसिमको संकट आउने नै थियो, अब विस्तारै रिकभरीको बाटोमा छ, सहकारीमा डाउनफल सकियो,’ उनले भने ।

यस्तै, उनले कतिपय नीतिगत कारणले पनि सहकारीमा समस्या आएको बताए । उनका अनुसार देशभर ३० हजार बढी सहकारीले ७ खर्ब बराबरको वित्तीय कारोबार गरिरहेकोले ती सहकारीलाई नियमन गर्नका लागि सरकारसँगै त्यो किसिमको पूर्वाधार तथा जनशक्ति नभएको बताए ।

‘३० हजार सहकारीमध्ये २३ हजार बढी सहकारीहरु स्थानीय तहको नियमनमा राखिएका छन्, विगतमा विभागको दायरामा रहेका सहकारीहरु अहिले स्थानीय तह र प्रदेश अन्तर्गत छन्, संघीय सरकारलाई १२५ वटाको मात्रै जिम्मेवारी दिइएको छ, जिम्मेवारी मात्रै दिइने तर त्यसको प्रभावकारी नियमन नगर्दा पनि अहिलेको समस्या देखिएको हो,’ उनले भने ।

यस्तै, उनले वित्तीय कारोबार गर्ने सहकारीको अनुगमन विभागले गर्न नसक्ने पनि जानकारी दिए । उनले सहकारीका सदस्यले एकभन्दा बढी सहकारीमा कारोबार गर्दा पनि समस्या सिर्जना भएको बताए । केही सहकारीहरुले सहकारीको मूल्य मान्यताभन्दा पनि ठग्ने मानसिकताका साथ काम गर्दा समस्या भएको बताए ।

उनका अनुसार अहिले सहकारीका बचतकर्ताले आवश्यक भएको भनेर बचात फिर्ता लिने भन्दा पनि सहकारी डुब्ने होकि भनेर चिन्ताको कारण धमाधम पैसा फिर्ता लिइरहेको बताए । उनले गलत गर्ने सञ्चालकहरु जहाँ भागेपनि कारवाहीको कठघरामा ल्याइने प्रतिवद्धता गरे । उनले गलत गर्ने सहकारीलाई बचतकर्ताको पैसा फिर्ता गर्न लगाएर घरजग्गामा लगानी गरेको भन्दै कारवाही गर्ने पनि चेतावनी दिए ।

यस्तै, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अहिले सहकारीका समस्या विस्तारै समाधान हुँदै गएको बताए । उनले पनि सरकारले राम्रो गर्ने सहकारीलाई प्रोत्साहन गर्ने र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए ।

‘हामीले सहकारीको समस्या समाधानका लागि काम गरिरहेका छौं, अहिले सहकारी सुधार कार्यदल पनि बनेको छ, केही सहकारीहरु सुधारको बाटोमा पनि छन्, गलत गर्नेलाई कारवाही गर्छौं, राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्छौं,’ उनले भने । उनले सहकारीमा आन्तरिक सुशासन नहुँदा समस्या भएकाे धारणा राखे ।

यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले पनि सहकारीमा देखिएका समस्या समाधानका लागि महासंघले भूमिका खेलिरहेको बताए । उनले गलत काम गर्ने सहकारी कारबाहीको भागिदार हुनु पर्ने र राम्रो काम गर्ने सहकारीलाई पनि प्रोत्साहन गर्नु पर्ने धारणा राखे ।

उनले सहकारीको ब्याजदर पनि स्वचालित बनाउनु पर्ने बताए । ‘स्वचालित तरिकाले सहकारीको ब्याजदर निर्धारण गर्नुपर्छ, बैंकको ब्याज घटेमा घट्ने र बढेमा बढ्ने वातावरणको सिर्जना सहकारीमा पनि गर्नु पर्छ,’ उनले भने ।

उनले महासंघले राखेका १३ बुँदे माग सम्बोधन नभए अझै पनि आन्दोलन गर्ने चेतावनी दिए । महासंले विभिन्न माग राखेर आन्दोलन गरिरहेको बेला बजेट मार्फत् आयकर बढाउँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ ।

सरकारले बजेटमार्फत् नगरपालिकामा सञ्चालित सहकारीमा १० प्रतिशत, उपमहानगरपालिकामा सञ्चालित सहकारीमा १५ प्रतिशत र महानगरमा सञ्चालित सहकारीबाट २० प्रतिशत कर लिने व्यवस्था गरेको छ ।

यस्तै, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले केही सीमित सहकारीले गलत गर्दा सबै सहकारीहरु बदनामी हुनु परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.