मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने

  २०८० जेठ २४ गते १३:०४     विकासन्युज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने  भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिए । उनले भने, ‘अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ ।’

उनले वर्षायाममा यहाँको नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गरे । महासेनानी  ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिए ।

मेलम्ची पारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रुपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य तामाङको पहल, निरन्तर प्रयास पछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी  बुढाथोकीको नेतृत्वमा आएको टोलीले  अध्ययन सर्वेक्षण गरेको हो ।

०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ । रासस

One comment on "मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.