वर्गीकरण पश्चात् कित्ताकाट खुला

  २०८० जेठ २२ गते ७:३९     विकासन्युज

फाइल फोटो

काठमाडौं । जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ । जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर नगर क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गरिएको जानकारी दिए ।

भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१)ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले सो काम सम्पन्न गरेको हो ।

नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको जग्गालाई कृषि क्षेत्रतर्फ तीन हजार १३५.८९ हेक्टर, व्यावसायिक क्षेत्रतर्फ ७५.३४ हेक्टर, सांस्कृतिक क्षेत्रतर्फ ८.४७ हेक्टर, नदीजन्य/पोखरी क्षेत्रतर्फ १०६.२७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ १७.२६ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ १७६.११ हेक्टर र आवासीय क्षेत्रतर्फ ९०३.३५ हेक्टर जग्गा वर्गीकरण गरेको हो ।

नगरपालिकाले वर्गीकरण गरेको जग्गा जम्मा ६२ हजार कित्ता रहेको र आइतबारदेखि सबै जग्गाको कित्ताकाट खुला भएको उनले बताए । जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा प्रशासकीय अधिकृत मित्रलाल ढकाल, इन्जिनियर पवन कुमार झा, अमिन रामजीवन साह र नापी अधिकृत ज्ञानकुमार यादवले जग्गा वर्गीकरणका बारेमा जानकारी दिए । जग्गा कित्ताकाट खुला भएसँगै जलेश्वर नगरवासीले आजदेखि जग्गासम्बन्धी काम गर्न पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.