५ अर्बको जग्गालाई बैंकले एक अर्बमै लिलाम गर्न खोजेपछि…

  २०८० जेठ २१ गते १९:३६     विकासन्युज

फाइल फोटो

काठमाण्डौ । घरजग्गा कारोबारमा मन्दी आएपछि समस्यामा परेको देउराली बहुउदेश्यिय सहकारीले बचतकर्ताहरुको निक्षेप फिर्ता समयमै गर्न सकेन । ६ अर्ब निक्षेप संकलन गरेको सहकारीले विगत एक बर्षयता बचतकर्ताको ५० करोड मात्रै फिर्ता गर्न बाँकी रहेको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाँइले बताएका छन् । आफुले क्रमश जग्गाहरु बेच्दै, घर बेच्दै बचतकर्ताहरुको बचत रकम फिर्ता गर्दै आएको र फिर्ता गर्न बाँकी रहेकाहरुको पनि क्रमशः तिर्दै गइरहेको अवस्थामा बैंकले आफ्ना जग्गाजमिन लिलाम गर्ने प्रक्रिया अघि बढाएर समस्या सिर्जना गरेको बताए ।

कुनैबेला ऋण लिन आउ, तिमिले राम्रो गरेका छौ भनेर बोलाउने बैंकहरुले अहिले अप्ठेरोमा घात गरेको अध्यक्ष चौलागाँइको भनाइ छ । मन्दीका कारण व्यवसायीहरु अरबौं कर्जा बिगारेर भागेका, कतिपयले सुसाइड समेत गरेका अवस्थामा आफु भने बैंक तथा सहकारीको समस्या सामाधान गर्न लागि परेको उनले बताए ।

अहिले पनि प्रभु बैक बाहेक अन्य बैंकले लिलामी तर्फ नगएर सामाधानतर्फ सहयोग गरेको उनले बताए । राज्यले नै आफुहरु जस्तालाई केही थप समय दिएमा सबैको समस्या सामाधान गर्ने चौलागाइले बताएका छन् ।

सञ्चालकहरुको नाममा रहेको करिब ५ अर्ब बराबरको घरजग्गा प्रभु बैंकले १ अर्बमै मिलाउने हिसावले कसरत थालेको उनको आरोप छ । ‘बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने आधार जग्गा हो, हाम्रो सबै लगानी घरजग्गामा हो, बैंकले नियमित किस्ता बुझाउन सकेन भन्दैमा अरुको सम्पतीमा आँखा लगाउनु र आफ्नो चाँही उठाइहाल्न खोज्नु मुनासिव होइन, उनले भने, ‘त्यसरी बंैकले लिलाम अघि बढाए बचतकर्तालाई निक्षेप फिर्ता गर्न कठिनाइ समेत हुनेछ, हामीहरुको मनोबल गिर्नेछ, हातखुटा बाँधेर समस्याको सामाधान हुदैन ।’

संस्था समस्यामा परेपछि देउरालीका अध्यक्षले संचालन गरेका विभिन्न व्यवसायहरु पुजा पोल्ट्री फार्म, अन्नपूर्ण डिष्टीलरी, पुजा मार्केटिङ, युनिलिभर, डाबर नेपाल जस्ता व्यवसायमा भएको लगानीबाट बचतकर्तालाई रकम फिर्ता दिँदै आएको उनले बताएका छन् । अहिले ती कम्पनीहरु नगद अभावले बन्द भएको र ८ सय जना भन्दा बढीले रोजगारी गुमाएको बताए ।

संस्थामा नगद सकिएपछि बचतकर्तालाई विभिन्न ठाउँको जग्गाजमिन दिँदै मिलाउँदै आएको सहकारीले आगामी असार मसान्तसम्म बचत फिर्ता गरिसक्ने लक्ष्य समेत राखेको छ ।

बचतकर्ताको निक्षेप फिर्ता गर्ने कुरामा अघि बढेको सहकारी संचालकले बैंकबाट विभिन्न कम्पनीमा लिएको कर्जाको साँवा ब्याज तिर्न सकेको छैन । फलस्वरुप अहिले प्रभु बैकले सञ्चालकको जग्गाजमिन लिलामी निकालेको छ । तर, बैंकले अहिलेको समयमा सस्तोमा लिलामी गरेमा सहकारीले त्यसविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउने बताएको छ ।

उक्त जग्गा बेचविखन गर्नु परेमा देउरालीका बचतकर्ता, बैक र सञ्चालक समिति बसेर समझदारी खोज्नुपर्ने सहकारीले बताएको छ । त्यसरी बैंकले सस्तोदरमा जग्गा लिलामी गरेर आफ्नो पैसा उठाउने यत्न गरेमा सञ्चालक र अध्यक्ष रोडमा आउने चौलागाइ बताउँछन् ।

सहकारीले संस्था समस्यामा परेको एक बर्षबीच बचतकर्तालाई नवलपरासी रजटको २८ कठ्ठालाई ४४ वटा घडेरी, ललितपुरको चापागाँउ, टिकाभैरव, विराटनगरको इनरुवा जस्ता ठाउँहरुको जग्गा सदस्यहरुलाई दिएर हिसाव मिलाएको थियो । बचतकर्ताले पनि केही रकम थपि लिँदै आएका थिए ।

अध्यक्ष, सञ्चालक समितिको नाममा भएको सम्पति, बैकमा रोक्का भएको सम्पती, कर्मचारीको नाममा भएको सम्पत्ति बेचविखन गरी सदस्यहरुको हिसाव मिलाउँदै आएको छ । अबको ६ महिनामा सबै हिसाव मिलान गरेर पुन सहकारी तथा व्यवसाय सञ्चालनमा ल्याउने तयारी रहेको चौलागाइले बताएका छन् । कतिपय नकारात्मक हल्लाको पछि नलाग्न सहकारीले सदस्यहरु समक्ष आव्हान समेत गरेको छ ।

संस्थाले हालसम्म सबैको हिसाव मिलान गरिसक्ने भएपनि लगानी गरिएका कर्जा रकम असुली नहुँदा पनि समस्या भएको अध्यक्ष चौलागाइले बताए । कर्जा नर्तिने र आर्थिक अपचलन गर्ने व्यक्ति तथा कर्मचारीलाई मुद्धा समेत दायर गरेको छ । संस्थाको सञ्चालक तथा अध्यक्ष बचतकर्ताको बाँकी रकम कसरी तिर्ने भनेर सबै विकल्पमा प्रयासहरु गरिरहँदा कतिपय ब्यक्तिहरुले मौकाको फाइदा उठाएर कर्जा नतिरेको र संस्थालाई ठगी गर्ने कार्य गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.