२०८० जेठ १९ गते १३:२२ विकासन्युज
काठमाडौं । शिबशिखर बहुउद्धेश्यिय सहकारीको बचतकर्ता ठगीको विषयमा केन्द्रिय अनुन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान सकेको छ । सिआईबी सहकारीको ठगीको विषयमा अनुसन्धान सकेर भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको छ । सिआईबीको अनुसन्धानका अनुसार सहकारीका सञ्चालकले बचतकर्ताको १४ अर्ब बढी रुपैयाँ हिनामिना गरेका छन् । यो नै हालसम्मको सहकारीको ठूलो घटना भएको बुझिएको छ ।
तर, सिआईबीले पहिलो चरणको अनुसन्धानमा साढे ६६ करोड रुपैयाँको बिगो दाबी गर्दै सहकारीका सञ्चालकविरुद्ध भक्तपुर जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा अनुसन्धान प्रतिवेदन पेश गरेको सिआईबीका प्रवक्ता संजयसिंह थापाले बताए ।
‘हामीले शिवशिखरको घटनालाई चरणवद्ध रुपमा अनुसन्धान गरिरहेका छौं, पहिलो चरणमा भक्तपुरको निक्षेपकर्ताको मात्रै जाहेरी दर्ता गरेर अनुसन्धान गर्यौं, त्यो अनुसन्धानबाट साढे ६६ करोड रुपैयाँ बिगो दाबीसहित सरकारी वकिल कार्यालयमा बुझाएका छौँ,’ उनले भने ।
उनका अनुसार भक्तपुरबाट मात्रै बिगो दाबी गरिएको रकमको परिमाण ७८ करोड बढी छ । सहकारीमा मुलुकभर एक लाखभन्दा धेरै निक्षेपकर्ता छन् । उनीहरूको १४ अर्बभन्दा धेरै रकम सहकारीमा जम्मा भएको बुझिएको छ । भक्तपुरको मुद्दा दर्तापछि काठमाडौं र ललितपुरमा अनुसन्धान गर्ने सिआइबीको तयारी छ ।
केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिबशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माकी श्रीमती गीता शर्मासहित तीन जना सञ्चालकलाई पक्राउ गरिसकेको छ । सीआईबीले शर्मासहित सो सहकारीका सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरु थुनामा छन् ।
बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीहरु पक्राउ परेका हुन् । शिबशिखर बहुउद्धेश्यिय सहकारीका पूर्व अध्यक्ष समेत रहेका केदार शर्मा अहिले फरार छन् । केदारनाथले भारतको राजस्थानमा समेत लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
शर्मादम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । केदारनाथ विराटनगरको तुलसी सहकारीका पनि पूर्वअध्यक्ष हुन् । उनी लामो समयसम्म दुई सहकारीको अध्यक्ष थिए । तुलसी सहकारीका सञ्चालकविरुद्ध ५० करोड हिनामिनाको अभियोगमा गत चैतमा प्रहरीले मुद्दा दायर गरिसकेको छ ।
शिखर अर्गनाइजेसनमार्फत शर्मादम्पतीले आफ्नो नाममा दर्ता गरिएका तीन दर्जन कम्पनी स्थापना गरी सहकारीको पैसा त्यसमा लगानी गरेका थिए ।
उनले सहकारीको पैसा दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । शर्माले आफ्नो श्रीमतीको लागि महँगो गाडी खरिद गरेको पनि बुझिएको छ । गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने टोयटाको फर्चुनर गाडी खरिद गरेकी थिइन् । सो गाडी सिआइबीले बरामद गरिसकेको छ ।
सहकारीका सबै सञ्चालकको नाममा रहेको सम्पत्ति पनि रोक्का भइसकेको छ । सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार सहकारी संस्थाको तर्फबाट पेश भएका सबै कागजातहरुको अध्ययनको आधारमा तत् निकायमा सम्पत्ति रोक्काका लागि आग्रह गरे बमोजिम सम्पत्ति रोक्का भएको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.