११ प्रतिशत ब्याज पाइने लुम्बिनी विकास बैंकको ऋणपत्र खरिद गर्ने समय लम्बियो

  २०८० जेठ १९ गते ८:४४     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । बैंकले जेठ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले जेठ ३० गतेसम्म खरिद गर्न सक्नेछन् । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालय र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.