पुँजी कोषको दबाबमा अधिकांश बैंक, ४ बैंकलाई लाभांशको चिन्ता

  २०८० जेठ १८ गते ११:२९     विकासन्युज

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको प्राथमिक पुँजी कोष थप सकस बन्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक दर्जन वाणिज्य बैंक पुँजी कोषको ठूलो दबाबमा छन् भने अन्य बैंक पनि सोही मार्गमा छन् ।

विशेष गरी चार वटा वाणिज्य बैंक अहिले ठूलो दबाबमा छन् । ती बैंकहरु पुँजी कोष अनुपातकै कारण व्यवसाय विस्तार गर्न नसक्ने अवस्थामा छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैतसम्मको तथ्यांक अनुसार प्रभु, माछापुच्छ्रे, एनआइसी एशिया र सिद्धार्थ बैंक प्राथमिक पुँजी कोषको दबाबमा छन् । यी बैंकहरुको प्राथमिक पुँजी कोष क्रमशः ८.६१ प्रतिशत, ८.७० प्रतिशत, ८.८५ प्रतिशत र ८.९५ प्रतिशत छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्राथमिक पुँजी कोषमा माछापुच्छ्रे बैंकको ८.६४ प्रतिशत, सिद्धार्थ बैंकको ९.१८ प्रतिशत, प्रभु बैंकको ८.९० प्रतिशत र एनआइसी एशियाको ९.१२ प्रतिशत थियो । एक त्रैमासमा यी चार वटै बैंकको पुँजी कोष घटेको छ । यी बैंकहरुलाई बैशाख, जेठ र असारमा व्यवसाय विस्तार गर्दा थप सकस हुने बैंकरहरु बताउँछन् ।

यस्तै, कुमारी, लक्ष्मी, सानिमा, हिमालयन, सनराइज, सिटिजन्स, र नेपाल एसबिआई बैंक पनि प्राथमिक पुँजी कोषको दबाबमा देखिन्छन् । यी बैंकहरुको प्राथमिक पुँजी कोष ९ प्रतिशतको हाराहारीमा छ । राष्ट्र बैंकका अनुसार कुमारी बैंकको ९.०१ प्रतिशत, लक्ष्मी बैंकको ९.२७ प्रतिशत, सानिमा बैंकको ९.४४ प्रतिशत, हिमालयन बैंकको ९.५८ प्रतिशत, सनराइजको ९.५९ प्रतिशत, सिटिजन्स बैंकको ९.६७ प्रतिशत र नेपाल एसबिआई बैंकको ९.९९ प्रतिशत पुँजी कोष छ ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार नबिलको १०.०७ प्रतिशत, एनएमबिको १०.१२ प्रतिशत, एभरेष्टको १०.१५ प्रतिशत, ग्लोबल आइएमईको १०.३४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ११.१८ प्रतिशत, नेपाल बैंकको ११.२१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ११.२७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.५७ प्रतिशत, कृषि विकास बैंकको १२.९२ प्रतिशत र स्ट्याण्डर्ड चार्ठर्ड बैंकको पुँजी कोष १३.६६ प्रतिशत छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात साढे ८ प्रतिशत हुनु पर्छ । जेठ र असारमा थोरै व्यवसाय विस्तार भएमा आगामी आर्थिक वर्षदेखि ती बैंकहरु थप समस्यामा पर्न सक्ने बैंकरहरु बताउँछन् ।

यसअघि एक सार्वजनिक कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पुँजीकोष कसिलो हुँदा व्यवसाय विस्तार गर्न समस्या भएको बताएका थिए । उनले राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल बैंकको पुँजी कोष हुँदा समस्या सिर्जना भइरहेको बताएका थिए । उनले राष्ट्र बैंकलाई यो समस्या समाधान गरिदिन अनुरोध पनि गरेका थिए ।

पुँजी कोष कम भएपनि राष्ट्र बैंकले बैंकहरुलाई लाभांश वितरणमा समेत रोक लगाउँछ । टायर वान क्यापिटल कम भएको भन्दै दुई आर्थिक वर्षमा एआईसी एशिया बैंकलाई राष्ट्र बैंकले लाभांश घोषणामा रोक लगाएको थियो भने गत वर्ष माछापुच्छ्रे र सिद्धार्थ बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो ।

नेपाल राष्ट्र बैंकले आगामी वर्षदेखि काउन्टर साइक्लिकल बफरको व्यवस्था लागू गर्दैछ । त्यसपछि झनै बैंकहरु समस्यामा पर्ने र लगानी नै गर्न नसक्ने अवस्था हुने चिन्तामा बैंकरहरु छन् । त्यसपछि अझै लाभांश वितरण गर्न पाइँदैन कि भन्ने चिन्तामा अधिकांश बैंक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.