पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी कास्कीमा अग्लो शिवपञ्चायन मन्दिर निर्माण

  २०८० जेठ १७ गते १५:१८     विकासन्युज

गण्डकी । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ ।

काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब ९० लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्यागोडा शैलीमा निर्मित मन्दिर ४६ फिट अग्लो र पशुपतिनाथकै स्वरुपमा चारतर्फ नै ढोका राखिएको छ । यो कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर रहेको दाबी गरिएको छ । मन्दिरभित्र गणेश, सूर्य, देवी, शिव, विष्णुका मूर्तिका साथै रामसीता, राधाकृष्ण भगवानका मूर्ति स्थापना गरिएको छ ।

मन्दिरलाई पोखराको विशष्टि धार्मिक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ दर्शनार्थीले सेती नदीको जलले स्नान गर्नसक्ने गरी १०८ धारा, यज्ञकुण्ड आदि स्थापना गरिने उनले जानकारी दिए ।

तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको समयमा २०७५ सालमा मन्त्रालयबाट १५ लाख रुपैयाँ प्राप्त गरी सुरु गरिएको मन्दिरको निर्माणमा गोशली हाउसबाट १० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट तीन चरणमा गरी १५ लाख रुपैयाँ र अन्य विभिन्न सहयोगदाताको सहयोगमा निर्माण गरिएको हो । आगामी दिनमा मन्दिरमा भक्तजनबाट प्राप्त हुने दान तथा सहयोग यसको संरक्षण र विकाससँगै गुरुकुलको दिगो सञ्चालनका लागि उपयोग गरिने अध्यक्ष अधिकारीले बताए ।

विसं १९५८ मा राजकीय भाषा पाठशालाका रुपमा स्थापित गण्डकी क्षेत्रकै पुरानो यस विद्यालयमा हाल दुई सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद सिग्देलले जानकारी दिए । जसमध्ये ३३ जना विद्यार्थीले गुरुकुलका रुपमा आवाशीय अध्ययन गरिरहेका छन् ।

नवनिर्मित मन्दिरको यही जेठ १९ गते भव्य समारोहका बीच समुद्घाटन एवं मूर्तिको प्राणप्रतिष्ठा गर्ने तयारी भइरहेको प्रचारप्रसार उपसमितिका संयोजक श्रीकान्त खतिवडाले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.