१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी

  २०८० जेठ १४ गते १०:०८     विकासन्युज

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ । चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार पाँच सय १६ थान नागरिकता वितरण भएको प्रजिअ पाण्डेले दिइन् । यो अवधिमा तीन सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने दुई सय ४४ मुद्दा फर्छ्योट भएको उनले जानकारी दिइन् ।

प्रशासनले जारी गरेको प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो नौ महिनाको अवधिमा ११ हजार तीन सय नौ वटा राहदानी वितरण गरेको छ । त्यसै गरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ ।

त्यसै गरी सोही अवधिमा प्रशासनमार्फत जम्मा २० लाख १३ हजार सात सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवं विपन्न परिवारका पाँच सय ३५ जनालाई कम्बल वितरण गरेको उनले बताए । सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको प्रजिअ पाण्डेले बताइन् ।

यता विकास आयोजनातर्फको अनुगमन शून्य छ भने सुरक्षा निकायको ३९ पटक अनुगमन गरिएको छ । यही अवधिमा जिल्लामा जम्मा एक सय १२ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २६ वटा संस्था नवीकरण भएको प्रजिअ पाण्डेले बताइन् । रासस

One comment on "१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.