साढे १७ खर्ब हाराहारीको बजेटको ड्राफ्ट तयार, करका नीति हेरफेर गर्न कोर टीम छुट्टै बस्ने

  २०८० जेठ १२ गते १७:०६     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको बजेट निर्माण टिमले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको ड्राफ्ट तयार पारेको छ । बजेट लेखन टिमले तयार पारेको बजेटको ड्राफ्ट अर्थमन्त्री डा. प्रकाश शरण महतलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको छ ।

मन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा रहेको ६ सदस्यीय टिमले शुक्रबार साँझसम्म अर्थमन्त्रीलाई बजेट लेखन टुंग्याएर हस्तान्तरण गर्न लागेको हो ।

शुक्रबार रुजु गरेर हस्तान्तरणको तयारी भएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘बजेटको ड्राफ्ट लगभग तयार भैसक्यो, अन्तिम रुजु गरेर आज साँझसम्म अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गर्ने तयारीमा छौँ, उहाँलाई हस्तान्तरण भएसँगै राजश्वका नीतिहरु माथि छलफल सुरु हुन्छ,’ स्रोतले भन्यो ।

राजश्वको नीति हेरफेरका लागि अर्थमन्त्रीसहित दुई सचिव (अर्जुन प्रसाद पोखरेल र राम प्रसाद घिमिरे), आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली र भन्सार विभागका महानिर्देशक बस्दैछन् । उनीहरु बसेर करका विषय हेरफेर गर्नेछन् ।

आगामी आर्थिक वर्षको बजेटमा राख्नु पर्ने कर बाहेकका अन्य सबै कार्यक्रमको जिम्मा बराल नेतृत्वको ६ सदस्यीय समूहलाई छ ।

मन्त्रालयल स्रोतका अनुसार साढे १७ खर्ब बराबरको बजेट सार्वजनिक गर्ने तयारी भएको छ । अन्तिम समयमा थपिने केही नयाँ योजना र राजश्वका दरका कारण केही फरक परेपनि मन्त्रालय सवा १७ देखि साढे १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारीमा छ ।

यसअघि नै राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई १६ खर्ब ८८ अर्बको सिलिङ दिएको थियो । दोस्रो चरणमा आयोगले उक्त रकममध्येमा १० प्रतिशत कटौती गर्दै १५ खर्ब १९ अर्बभित्रि बजेटको सिलिङ दिएको थियो । तर, चालू आर्थिक वर्षको तुलनामा धेरै कम सिलिङ तोकिएपछि अर्थमन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बढाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले नै २० प्रतिशत बजेटको सिलिङ बढाउन निर्देशन दिएको आयोगले बताएको थियो ।

चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याईएको थियो । आगामी आवको बजेट चालू आवकै हाराहारिमा आउने अनुमान गर्न सकिन्छ ।

अर्थमन्त्री डा। महतको चैत २४ को मन्त्रीस्तरीय निर्णय गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ ।

उक्त समितिको सदस्यहरुमा सहसचिवहरु उत्तरकुमार खत्री सहित धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा छन् ।

सुनसान अर्थ, बन्द ढोका हेर्दै फर्कन्छन सेवाग्राही

बजेट लेखनको तयारी अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले गत सोमबारदेखि मन्त्रालयको ढोका नै बन्द गरेको छ । बजेट लेखन अन्तिम चरणमा पुग्दा बजेटका सिद्धान्त तथा प्राथमिकता बाहिरिनेभन्दै ढोका बन्द गरिएको हो ।

मन्त्रालयको ढोका बन्द भएसँगै अर्थमा आएका सेवाग्राहीहरु बन्द ढोका हेर्दै फर्कने गरेका छन् । शुक्रबार दिउँसो मन्त्रालय सुनसान थियोे भने काम विशेषले आउने सेवाग्राहीहरु ढोकामा राखिएको सूचना हेर्दै फर्किरहेका थिए ।

केही दिन यता अर्थमन्त्रालयको प्राङगण पनि सुनसान जस्तै बनेको छ । मन्त्रालय परिसर सुनसान भएतापनि मन्त्रालयको क्यान्टिनमा भने केही भिड देखिएको थियो ।

गत सोमबारदेखि सेवाग्राहीसँगै मन्त्रालयका कर्मचारी बाहेक अन्य कर्मचारीलाई मन्त्रालय प्रवेशमा रोक लगाइएको छ । भीड हुने भन्दै मन्त्रीको सचिवालयमा रहेका तीनरचार जना बाहेक अन्य कर्मचारीहरुलाई समेत प्रवेशमा रोक लगाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.