पशुपतिको जलहरीको विषयमा छानबिन समिति गठन गर्न माग

  २०८० जेठ १२ गते १५:४७     विकासन्युज

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

आफूले जलहरीको कुरामात्रै संसदमा नउठाएको भन्दै उनले भने, ‘केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषयहरु उठाएको हुँ, तत्कालिन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको हुँ, ओलीलाई व्यक्तिगत रुपमा किटान गरेको होइन ।’

यस्तै, नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने धारणा राखे । उनले संसद नचलाउने नियत देखिएको बताए । भूटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको उनी बताउँछन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे । उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए ।

पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.