भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग

  २०८० जेठ १२ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउन आग्रह गरेको छ । भन्सार कर तथा राजस्व सम्बन्धमा आयोजना गरिएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग गरेका छन् ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राजस्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए । उनले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए ।

‘विश्व व्यापार सङ्गठनबाट निर्धारित मूल्याङ्कन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्दछ,’ उनले भने ।

भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन प्रयोगशालाको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउनसमेत अध्यक्ष मल्लले आग्रह गरे । भन्सार कार्यालयका कारणले हुने ढिलाइमा डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्थाको निराकरण हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर तथा राजस्वको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिए । सोका लागि बिल लिने/दिने व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराए । करको दर वृद्धि गरिनुभन्दा दायरा बढाइनुपर्ने भन्दै अध्यक्ष मल्लले यसका लागि नागरिकता वितरण गर्दासँगै पान कार्ड पनि दिलाउनुपर्ने बताए ।

अन्तरक्रियामा सहभागी अधिकांश उद्योगी व्यवसायीले सरकारले दिने निर्यात अनुदानलाई लक्षित वर्गमा पु¥याउनुपर्नेमा जोड दिएका थिए । कर राजस्वका सम्बन्धमा स्थानीय तहले आफूखुसी कर निर्धारण गर्दा पनि उद्योग व्यवसाय चलाउन समस्या भएको उनीहरुको गुनासो थियो ।

सीमा नाकामा हुने चोरी निकासीले राजस्व सङ्कलनको लक्ष्यमा गम्भीर असर परेको अधिकांश व्यवसायीको भनाइ छ । कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन कृषि कार्यमा प्रयोग हुने यन्त्र, उपकरण र आधारभूत प्रयोगका वस्तुमा आगामी बजेटमा भन्सार तथा कृषि सुधार शुल्कमा पूर्णतः छुट हुनुपर्नेसमेत व्यवसायीले माग गरेका छन् ।

चेम्बर अफ कमर्सको कर राजस्व तथा भन्सार समितिका सभापति परशुराम दाहालले कर राजस्वमा देखापरेका समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.