अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

  २०८० जेठ १२ गते १५:०४     विकासन्युज

काठमाडौं । अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो ।

सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्र्याक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो ।’

सडक विभागले एक दशक पहिले बालाजु–रानीपौैवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए । इञ्जिनियर भण्डारीले भने, ‘असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएको हो ।’
पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको सडक झन्डै साढे चार किमी लामो  छ । गत असोज २६ देखि  नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए ।
लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए । वर्षाका कारण सडक भासिने र फोहर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहरका गाडी फर्कने गरेका थिए । गत वर्ष वर्षाको समयमा महिनौँसम्म फोहर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो ।
बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीन वटा ठेक्का गरिएको थियो । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ । यी तीनै कम्पनीसँग विसं २०७०÷७१ मा ठेक्का सम्झौता गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.