त्रिवि र आइडिया स्टुडियोबीच उद्यमीलाई सहयोग गर्न सम्झौता

  २०८० जेठ १२ गते १२:३९     विकासन्युज

काठमाडौं । त्रिभवुन विश्वविद्यालयको व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झाैता अनुसार विश्वविद्यालय र आइडिया स्टुडियो नेपालले स्टार्टअप प्रणालीमा सामुदायिक संलग्नतालाई प्रोत्साहन गर्दै उद्यमशीलता र नवप्रवर्तनका फाइदाबारे सचेतना जगाउन स्थानीय समदुायसँग सक्रियरूपमा सहभागी भई काम गर्ने छ ।

दुवै संस्थाले आकाङ्क्षी उद्यमीलाई वित्तीय र बैंकिङ साक्षरता कार्यक्रम, बीज लगानी सहजीकरण, सहुलियत र वित्त लगानीका अवसर जुटाउने सहयोग गर्नेछ ।

विश्वविद्यालय, व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भने, ‘आइडिया स्टुडियो नेपालसँगको सहकार्यलाई विद्यार्थी र सङ्काय सदस्यमा उद्यमशीलता एवं नवप्रवर्तनको प्रवद्र्धनमा महत्वपूर्ण कदम चालेको छ, हाम्रो संयुक्त प्रयासमार्फत, हामी एक गतिशील उद्यमशील प्रणाली सिर्जना गर्ने लक्ष्य राख्छौँ, जसले रचनात्मकतालाई पोषण दिन्छ, सहयोगलाई बढावा दिन्छ र दिगो विकासको लागि मार्ग प्रशस्त गर्दछ ।’

आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले साझेदारीले आशाको सञ्चार गरेको बताए । ‘समझादारीले नयाँ आविष्कार र दिगो व्यावसायिक अभ्यास गर्नेतर्फ रोमाञ्चक यात्राको सुरुआत गरेको छ, हाम्रो विशेषज्ञताको सदपुयोग र सङ्कायसँग सहकार्य गरेर यसको व्यवस्थापन हुनेछ,’ उनले भने ।

समझदारीले आगामी पुस्ताका उद्यमीलाई सकारात्मक सामाजिक र आर्थिक परिवर्तन गर्न प्रेरित एवं सशक्तीकरण गर्न सहयोग मिल्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.