काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक गाडीको न्यूनतम भाडा १९ रुपैयाँ

  २०८० जेठ १२ गते १२:०७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा १९ रुपैयाँ तोकिएको छ ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएसँग नयाँ भाडा तोकिएको हो । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा २० रुपैयाँ रहेको थियो ।

मन्त्रालयले घटाएको भाडादर शुक्रबार राजपत्रमा प्रकाशित भइसकेकाले नयाँ भाडा लागु भएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । ‘नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ,’ उनले भने ।

योसँगै ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ, १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ, १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ रुपैयाँ तोकिएको छ ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो ।

लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० रुपैयाँ र पेट्रोलमा तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर रु १०–१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.