नविनतम् ‘ब्रान्डिङ’ सेवा प्रदान गर्ने प्रदायकलाई आवेदन आह्वान

  २०८० जेठ ११ गते १६:२४     विकासन्युज

काठमाडौं । ‘सहज च्यालेन्ज फण्ड–तेस्रो’ अन्तर्गत नविनतम ब्रान्डिङ/प्याकेजिङ/वितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदनका लागि आह्वान गरिएको छ । सहज च्यालेन्ज फन्डले आज यहाँ पत्रकार सम्मेलन गरी तेस्रो चरणको औपचारिक शुभारम्भ गरिएको जानकारी दिएको हो ।

कार्यक्रममा स्वीस कन्ट्याक्टका तर्फबाट नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) का समूह नेता रिक भ्यान डर क्याम्पले स्वीस कन्ट्याक्टका परियोजनाले खेलेको परिवर्तनकारी भूमिकाबारे जानकारी दिए । एनएएमडीपीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फण्ड, यसका विभिन्न चरण र फण्डले गर्दै आएको कामको बारेमा जानकारी दिएका थिए ।

प्राक्टिकल एक्सन कन्सल्टिङ्गका तर्फबाट सहज च्यालेन्ज फण्डका समूह नेता अधिश कार्कीले तेस्रो चरणको च्यालेन्ज फण्डले काम गर्ने कार्य क्षेत्र, सहयोगको प्रकार, आवेदन प्रक्रिया र सहयोग रकमबारे जानकारी दिए । फण्डले पाँच लाखदेखि ५० लाखसम्म सहयोग गर्ने आयोजकले जनाएको छ ।

प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिनेछ । उपकरण तथा मेसिनेरी खरिदका लागि भने फण्डले सहयोग नगर्ने व्यवस्था छ । फण्डका ब्रान्डिङ र प्याकेजिङ विशेषज्ञ अनुज श्रेष्ठ र वितरण प्रणाली विशेषज्ञ दिविभ भक्त श्रेष्ठले आफ्ना क्षेत्रमा रहेका बाधा, अवरोध तथा चुनौतीबारे जानकारी दिए ।

च्यालेन्ज फण्डका लागि यही असार ५ सम्म आवेदन दिन सकिने जनाइएको छ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्याङ्कन गरिने र सफल आवेदकलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिने सम्मेलनमा जानाकारी दिइएको थियो । पेस गरिएका व्यावसायिक योजनाको पूर्ण मूल्याङ्कनपछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउने छन् ।

आवेदकको माग अनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोगमार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवामा पहुँच बढाउदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । कार्यक्रममा स्वीस कन्ट्याक्ट, सिप्रङ, र प्राक्टिकल एक्सन कन्सल्टिङ्गका प्रतिनिधिलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.