आसेपासेलाई जागिर दिन खोजेपछि संस्थानमा खैलाबैला, नाम निस्केपछि विज्ञापन रद्द

  २०८० जेठ ११ गते १५:४७     विकासन्युज

काठमाडौं । नेपाल खानेपानी संस्थानले वि.सं. २०७८ चैत्र १ गते सूचना प्रकाशन गर्दै करारमा कर्मचारी आवश्यक रहेको भन्दै आवेदन खुल्ला गर्यो । संस्थानले एकदेखि तीन तहसम्मका करार कर्मचारीको आवश्यकता परेको भन्दै सो आवेदन खुल्ला गरेको थियो ।

संस्थानमा रिक्त रकेको पदहरू मध्ये खुल्ला प्रतियोगितात्मक अन्तर्वार्ता परीक्षाद्वारा ६ महिनाको लागि करार सेवामा पदपूर्ति गर्नका लागि आवेदन खुल्ला गरेको सो सूचनामा उल्लेख थियो । विभिन्न पदमा ४६ जना कर्मचारी आवश्यक रहेको विज्ञापनमा उल्लेख थियो ।

संस्थानले जूनियर प्लम्बरमा ७, लाइट ड्राइभर ७, प्लान्ट एटेन्डेन्ट १, ल्याब बोइ ३, हेल्पर १४, कार्यालय सहयोगी १४ गरी ४६ जना माग गरेको थियो । विज्ञापन खुलेको ३० दिनभित्र रिक्त पदमा आवेदन दिनुपर्ने कुरा उल्लेख गर्दै संस्थानले आवश्यक योग्यता र प्रमाण पत्र पनि सम्बन्धित कार्यालयमा बुझाउन भनिएको थियो । सो समय अवधिमा करिब ११ सयको आवेदन परेको संस्थानले जानकारी दिएको छ ।

आवश्यकता भन्दा बढी आवेदन परेपछि संस्थानले सूचनामा प्रकाशन भए अनुसार नै सबैको उम्मेदवारको अन्तर्वार्ता लियो । अन्तर्वार्ता पोखरा, बुटवल र लिइएको संस्थानका सूचना अधिकारी त्रिदीप कुमार श्रेष्ठले बताए ।

लामो समयदेखि कर्मचारीको अभाव झेल्दै आएको संस्थान कर्मचारी भर्ना गर्न आतुर थियो । सबैको अन्तर्वार्ता सक्काएर नतिजा प्रकाशनको तयारीमा थियो संस्थान ।

तर नतिजा प्रकाशन गर्नु अगावै एकलौटी कर्मचारी नियुक्त गर्न खोजेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । उजुरी परेपछि यस विषयमा आयोगले खानेपानी मन्त्रालयलाई पत्राचार गर्यो । त्यसपछि मन्त्रालयले यस विषयमा छानबिन गर्न समिति गठन गर्यो । छानबिन समितिले प्रक्रिया गलत भएको भन्दै कर्मचारी छनोटको प्रक्रिया अगाडि बढाउन उचित नभएको निष्कर्ष निकाल्यो ।

समितिले यस्तो निष्कर्ष निकालेपछि संस्थाले सो विज्ञापन रद्द भएको सूचना निकालेको छ । संस्थाले सञ्चालक समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको र आवेदन दिएकाहरुले तिरेको दस्तुर १५ दिनभित्र फिर्ता लिन आग्रह गरेको छ ।

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद नेपालले मन्त्रालयको निर्णय बमोजिम नै विज्ञापन रद्द गर्नु परेको बताए । उनले कर्मचारी भर्ना एकलौटी नभई सबै मिलेर गरेको भएपनि छानबिन समितिले रद्द गर्नु भनेपछि रद्द गरेको बताए ।

‘हामीले नियम अनुसार कर्मचारीको भर्ना प्रक्रिया अगाडि बढाएका थियौं, पछि उजुरी परेपछि प्रक्रिया रोकियो, अब विनियमावली बनेपछि भर्ना गर्ने कुरा भएको छ,’ उनले भने ।

खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेल भने उम्मेदवारहरुको योग्यता नपुगेको कारण विज्ञापन रद्द गर्नु परेको बताउँछन् । संस्थानले योग्यता नपुगेकाहरुलाई भर्ना गर्न लागेपछि समितिको सिफारिसमा विज्ञापन रद्द भएको उनको भनाइ छ ।

‘योग्यता पुगेन, लखडा पर्यो, धादली भयो, त्यही भएर विज्ञापन रद्द भएको हो, योग्यता नपुगेको मान्छे ड्राइभर भएपछि कसरी हुन्छ, उनले भने, ‘ करारका कर्मचारी राखेर संस्थान चल्दैन, अब स्थायी कर्मचारी राखेरै संस्थान चलाउनु पर्छ ।’

संस्थानले एक पटक मात्र होइन, पटक–पटक कर्मचारीको पदपूर्ति सम्बन्धी सूचना निकाल्दै विज्ञापन रद्द गर्दै आएको छ । वि।सं। २०७७ पुस १६ गते पनि संस्थानमा कर्मचारी आवश्यक भएको भन्दै विज्ञापन जारी गरिएको थियो । सो मितिमा ८ जना सिभिल इन्जिनियर माग गरेको थियो । तर, बिचमै संस्थानले त्यो विज्ञापन पनि रद्द गरेको थियो ।

खानेपानी संस्थानमा कर्मचारीको पदपूर्ति हुन नसकेपछि जनशक्तिको अभाव रहेको बुझिएको छ । अहिले संस्थानमा ३ सय २२ जना करार कर्मचारी कार्यरत छन् । विभिन्न विवाद र विवादको टुङ्गो समयमा नलाग्दा आवश्यक कर्मचारी भर्ना गर्न नसकेको संस्थानको भनाइ छ ।

‘वार्षिक २० जना बढी कर्मचारीहरु उमेर हद पुरा गरेर अवकाश लिइरहेका छन्, उनीहरुको सट्टामा नयाँ कर्मचारीहरु भर्ना गर्न सकिएको छैन, संस्थानमा ८ सय ३३ जनाको दरबन्दी छ, तर अहिले त्यसको आधा मात्रामा पनि कर्मचारी छैनन्, सूचना अधिकारी श्रेष्ठले भने । उनका अनुसार अहिले एउटै कर्मचारीले दुइटा शाखाको जिम्मेवारी सम्हाल्नु पर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.