उनका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने भएको छ । यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो ।
योजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएको छ । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ । जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव पाँच लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ ।
समिति अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० जना कामदार खटिरहेको बताए । आयोजनाका सुपरभाइजर इन्द्रमानसिं बस्नेतका अनुसार आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङकी छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर दुई, प्लेन सेडिमेन्टेसन ट्याङ्की दुई, र्यापिड–स्याण्ड फिल्टर एक), प्रसारण लाइन नौ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन एक सय ८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्य, सरसफाइका संरचना तथा आवश्यक शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेका छन् ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ ।
यस्तै हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको छ भने करिब चार हजार घरमा धारा जडानकार्य सकिएको लामिछानेले बताए । उनका अनुसार कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्याएका कारण पनि आयोजनाको काम केही धकेलिएको हो । रासस