२०८० जेठ १० गते १६:५५ विकासन्युज
काठमाडौं । अर्थमन्त्रालय आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट लेखनको अन्तिम चरणमा पुगेको छ । बजेट लेखनकै लागि मन्त्रालयले सोमबारदेखि अर्थमन्त्रालयको ढोका नै बन्द गरेको छ ।
बाहिरि व्यक्तिहरु मन्त्रालय प्रवेश गर्दा बजेट लेखनमा प्रभाव पर्नेभन्दै सोमबारदेखि अर्थमन्त्रालय बाहेकका अन्य कर्मचारीहरुलाई बाहिरै रोकेर मन्त्रालय बजेट लेखनमा केन्द्रित भएको हो ।
गत चैतदेखि नै मन्त्रालयले ६ सदस्यीय बजेट लेखन समूह बनाएर बजेटको काम गरिरहेको छ । कोर टिम बनाएर बजेट लेख्दा वा भनु मन्त्रालयकै ढोका बन्द गरेर काम गर्दा बजेटमा समावेश हुने करका दर हेरफेरको सूचना बाहिरिएको छ ।
आगामी बजेटमा करको दर हेरफेरको सूचना चुहिएसँगै उद्योगी व्यवसायीहरु बजेटमा समावेश नगर्न लविङ सुरु गरेका छन् ।
मंगलबार नै नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले एक विज्ञप्ती नै जारी गरेर करका दर हेरफेर नगर्न आग्रह गरेको छ ।
‘हामीले गोप्य सूचना मार्फत आगामी बजेटमा नेपालमा नै सवारी उत्पादन गर्ने (एसेम्बलिङ) उद्योगमा दिँदै आएको कर छुट हटाउने जानकारी पाएका हौँ, सरकारले प्रत्येक वर्ष करको दरमा परिवर्तन गर्दा व्यवसायमा संकट आउने देखिपछि नबढाउन आग्रह गरेका हौँ’, नाडा स्रोतले भन्यो ।
‘सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा सुनिएको छ’, नाडाले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।
नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जारी गरेको विज्ञप्ती अनुसार सरकारले एसेम्बल उद्योगमा छुट दिँदा हाल नेपालमा २ वटा कम्पनीले दुई पाँग्रे सवारी उत्पादन गर्दै आएका छन् भने अन्य तयारीको चरणमा रहेका छन् ।
‘नाडाले धेरै समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गदैं सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ, यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पाँग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेका छन्’, विज्ञप्तीमा भनिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.