काठमाडौं भ्यू टावर २६ तलासम्म बनाउन मिल्ने पुल्चोक इञ्जिनियरिङ क्याम्पसको सुझाव

  २०८० जेठ १० गते ८:१९     विकासन्युज

काठमाडौं । निर्माणाधीन काठमाडौं  दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ ।

१२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र थप लता थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ ।

उक्त टावर वि.सं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कती तला थप्नेबारे यकिन हुनेछ ।

हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपको लागि कामपालाई निवेदन दिनुपर्छ सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो ।

‘हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, तला थप्न मिल्छ कि मिल्दैन जस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो,’ काफ्लेले भने ।

स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले वि.सं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच विसं २०७१ फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ५ वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ ।

कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सय सवारी साधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ ।

गत वैशाख २२ देखि निजी गाडी पार्किङ सुरु

निर्माणाधीन भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले ४ पाङ्ग्रे साना सवारी साधन र २ पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ । अहिले सुरुआती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइने बताइएको छ । प्रमुख काफ्लेका अनुसार चार सय साना सवारी साधन र एक हजार मोटरसाइकल अट्ने पार्किङ गत वैशाख २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो ।

अहिले पार्किङको समस्या निकै नै रहेकाले पूर्ण रुपमा निर्माणको काम सम्पन्न नभईकनै पार्किङ खुला गरिएको बताइएको छ । टावर निर्माणकै लागि वि.सं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । ५ वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम भने सम्पन्न भएको छैन । उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवातजावत गर्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.