ताप्लेजुङ-दार्चुला बाइक टूर गर्दै १० युवा पत्रकार र कलाकार

  २०८० जेठ ९ गते १९:४०     विकासन्युज

काठमाडौं । एनटीपी मल्टीमिडिया ग्रुपले १५ दिन ताप्लेजुङ-दार्चुला बाइक टूर गर्ने भएको छ ।नेपालको पर्यटन प्रवद्र्धनका लागि युवा पत्रकार तथा कलाकारको टोली जेठ १० गतेदेखि २५ गतेसम्म बाइक टूर गर्ने भएको हुन् ।

नेपाल टूरिजम प्रोमोसन टूर (ताप्लेजुङ–दार्चुला)का संयोजक विष्णु विवेकले एनटीपी मल्टीमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरुको थप प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयासस्वरुप ताप्लेजुङ–दार्चुला बाइक टूर गर्न लागेको बताए ।

‘पाँच वटा बाइकमा १० जनाको टिमले गर्ने टूरको लागि नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग सहकार्य गरिएको छ,’ उनले भने ।

जेठ १० गतेदेखि सुरु हुने टूर अन्तर्गत काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना रहेको उनले बताए ।

झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुग्ने योजना ग्रुपको रहेको छ । यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालीकोट, दैलेख भएर सुर्खेत सदरमुकाम बीरेन्द्रनगर झर्ने योजना ग्रुपको रहेको छ ।

टूरले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा दिनुका साथै सातै प्रदेशको पर्यटन प्रवद्र्धनमा सरोकारवालाहरुको भूमिकालाई थप सशक्त बनाउने ग्रुपले विश्वास लिएको जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.