सवारी साधन एसेम्बलिङ्ग उद्योगको छुट कटौती गरे ठूलो लगानी डुब्छ : नाडा

  २०८० जेठ ९ गते १८:३२     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनले सरकारले आउँदो बजेटमार्फत सवारी साधन एसेम्बलिङ्ग उद्योगको महशुलमा छुट कटौती गर्न लागेको विषयमा आपत्ती जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नाडाले यस विषयप्रति आपत्ती जनाएको हो ।

सरकारले यसरी सेवा कटौती गर्ने नीति ल्याएमा एसेम्बल उद्योगमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्नुका साथै नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित रहेको नाडाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधरणले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्नेका साथै रोजगारी सृजना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको भनाइ छ ।

‘सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउँदै जानु पर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने छ,’ नाडाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपालमा ४ वटा दुई पाँग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको छ । यस्तै, दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको छन् भने केही खुल्ने तयारीमा रहेका छन् ।

सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.