दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा पर्यटन मन्त्रीले गरे स्वागत

  २०८० जेठ ९ गते १२:५०     विकासन्युज

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् ।
भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएको भन्दै हार्दिक बधाइ दिए ।
‘हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ’, मन्त्री किरातीले भने, ‘उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।’
सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिए । ‘आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरु मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पु¥याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।’ उनले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.