राष्ट्र बैंकको कारवाहीमा ४ बैंक र एक फाइनान्स, एउटै संस्थालाई ५ पटकसम्म जरिवाना

  २०८० जेठ ८ गते १५:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरीत काम गर्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । सोमबार राष्ट्र बैंकले ४ वटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नपुर्याएको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई नगद कारबाही गरिएको हो ।

राष्ट्र बैंकका अनुसार सीडी रेसियो कायम नगर्ने कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौं पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारवाही गरेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार २६५.३० रुपैयाँ, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२.२६ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४.७३ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५.५७ रुपैयाँ नगद जरिवाना गरेको हो ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंक सीआरआर कायम नगरेको भन्दै तेस्रो पटक कारवाही गरेको छ । बैंकलाई पहिलो पटक ३ हजार ९४८.५३ रुपैयाँ, दोस्रो पटक ६३ हजार ७८२.७८ रुपैयाँ र तेस्रो पटक १ लाख ८ हजार ७७०.२१ रुपैयाँ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मल्टिपर्पस फाइनान्सलाई सीआरआर नर्पुयाएको भन्दै २ हजार ७०१.०३ रुपैयाँ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.