लक्ष्मीभन्दा सनराइज बैंक अब्बल, स्वाप रेसियो फरक आएपनि समान हैसियतमा मर्जर

  २०८० जेठ ८ गते १५:१८     विकासन्युज

काठमाडौं । मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकबीचको विस्तृत ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्टमा २ प्रतिशत फरक आएको छ । डीडीए रिपोर्ट अनुसार लक्ष्मी बैंकभन्दा सनराइज बैंक २ प्रतिशत बलियो देखिएको हो ।

स्रोतका अनुसार डीडीए रिपोर्टमा लक्ष्मी बैंकको ९८ प्रतिशत आउँदा सनराइज बैंकको १ सय प्रतिशत स्वाप रेसियो आएको छ । डीडीए रिपोर्टमा फरक आएपनि लक्ष्मी र सनराइज बैंक सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने छन् ।

‘डीडीए रिपोर्टमा लक्ष्मीको ९८ प्रतिशत र सनराइज बैंकको १ सय प्रतिशत आयो, सनराइज बैंकको सम्पत्ति धेरै छ, सम्पत्तिको भ्यालूसन गर्दा सनराइज बलियो देखियो तर, लक्ष्मीको पूँजी भने बढी छ,’ स्रोतले भन्यो ।

डीडीए रपोर्टमा ५ प्रतिशतभन्दा बढी आएमा सोही अनुसार कायम हुने उल्लेख थियो । तर, २ प्रतिशतको मात्रै फरक आएको हुँदा १ः१ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछन् । दुवै बैंकका सञ्चालकबीच सोमबार मर्जरमा जान अन्तिम सम्झौता हुँदै छ ।

मर्जरपश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने प्रारम्भिक सहमति भएको थियो । लक्ष्मी बैंकले यसअघि अध्यक्ष र सीईओ दावी गर्दै आएको भएपनि डीडीए रिपोर्टमा २ प्रतिशत बढी आएपछि सनराइज बैंकले अध्यक्ष दाबी गरिरहेको स्रोतको भनाइ छ ।

‘अन्तिम सम्झौतामा दुवै बैंकको सेयर स्वाप रेसियो १ः१ अनुपात हुने छ, लक्ष्मी बैंकले सीईओ पाउने छ तर, अध्यक्ष पदका लागि भने अहिले सहमति भएको छैन, नयाँ सञ्चालक समितिले अध्यक्ष नियुक्त गर्ने निर्णय गर्ने छ,’ स्रोतले भन्यो ।

लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । यसअघि लक्ष्मी बैंकले अध्यक्ष र सीईओ पाउने मौखिक सहमति भएको थियो । सोही अनुसार मात्रै लक्ष्मी बैंकले मर्जर सम्झौता गरेको थियो । तर, अहिले स्वाप रेसियोमा सनराइज बैंक लक्ष्मी भन्दा अब्बल देखिएपछि अध्यक्ष पद दाबी गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार बैंकका कर्मचारी व्यवस्थापनको र शाखा कार्यालय मर्जरको काम पनि भइरहेको छ । कर्मचारीलाई भिआरएस स्किम ल्याउने उनले बताए । तथापि, कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने प्रारम्भिक सहमति भएको छ ।

लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा र सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.