नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छ : यातायात मन्त्री

  २०८० जेठ ८ गते ११:१३     विकासन्युज

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन् ।

सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताए । उनले अहिले काम निकै उपलब्धिमुलक रहेको भन्दै अब नख्खु—भैंसेपाटी क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गरे ।

उनले भने, ‘अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुनुपर्छ । यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले समन्वय र सहजीकरणमा कमी हुनु हुदैन । निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्नुपर्छ ।’

मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरु निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले बजेट प्रश्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताए ।

उनले आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तिब्रता दिने बताए । उनले सरकारले महत्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने जानकारी दिए । मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तिब्र गतिमा अघि बढेको आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि रोड एम्बुलेन्सको परिकल्पना गरेकोमा पनि जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.