किन लगायो भारतीय रिजर्ब बैंकले २ हजारको नोटमाथि प्रतिबन्ध ?

  २०८० जेठ ८ गते १०:५१     विकासन्युज

काठमाडौं । ८ नोभेम्बर २०१६ राति ८ बजे टेलिभिजनबाट सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही रातको १२ बजेबाट एक हजार र पाँच सयका नोटलाई चलनचल्तीलाई हटाएका थिए । प्रधानमन्त्री मोदीको सो घोषणासँगै भारतीय मुद्रा बजारका १५.४४ करोड नोट चलनचल्तीबाट बाहिरिएको थियो ।

सो प्रतिबन्धसँगै भारतीय रिजर्ब बैंकले दुई हजारको नोट छाप्न शुरु गरेको थियो । यसले नोटको अभावलाई पूर्ति त गरेको थियो तर, नयाँ समस्या पनि सिर्जना गर्न पुग्यो । त्यस्तै, १९ मे को दिन भारतीय रिजर्ब बैंकले दुई हजारको नोटको सर्कुलेसन बन्द भएको घोषणा गर्यो ।

किन प्रतिबन्ध गरियो नोटलाई ?

यो विषय बुझ्नको लागि सबैभन्दा पहिले कालोधनको विषयलाई बुझ्नुपर्ने हुन्छ । पहिलो विषय यो हो की कालोधन जहिलेपनि नोटको रुपमा नै सञ्चित गरिएको हुन्छ । कालोधन सुन, चाँदी, जमिन तथा अन्य सम्पत्तिको रुपमा समेत सञ्चिति गरिएको हुन्छ । विशेष गरी गैरकानूनी सम्पत्तिमा कर छली गरिएको हुन्छ ।

भारतमा सन् २०१६ को ८ नोभेम्बरमा सोही कालोधनलाई निशाना बनाएर पाँचसय र एक हजारको नोटमाथि प्रतिबन्ध लगाइएको थियो । अचानक भारतमा ८५ प्रतिशत नोट नचल्ने भएका थिए ।

कतिपय मानिसहरुसँग लेनदेनको लागि नोट नै नभएको अवस्था सिर्जना भएको थियो । कतिपय मानिसको जीवनमा निकै कठिनाईको अवस्था सिर्जना भएको थियो । सोही समयमा छापिएको दुई हजारको नोट जहाज र हेलिकप्टरको प्रयोग गरेर देशको विभिन्न भागमा पुर्याइएको थियो ।

भारतमा ५, १०, २०, ५० र १०० का नोट प्रतिवर्ष ३३ प्रतिशतका दरले बिग्रने गरको छ । अर्थात साना मूल्यका एक तिहाई नोट हरेक वर्ष एक तिहाई संख्यामा बिग्रने गरेको छ । जहाँ ५ सयको नोट २२ र एकहजारको नोट ११ प्रतिशत मात्रै बिग्रने गरेको छ । नोट बिग्रने यस्तो दर कालोधनको भण्डारमा भने कम हुने गरेको अनुमान गरिएको छ ।

भारतीय रिजर्ब बैंकले सन् २०१६ मा कालोधन ७ दशमलब ३ लाख करोड भएको अनुमान गरेको थियो तर सो अनुमान मिल्न सकेको थिएन । जबकी ९९.३ प्रतिशत नोट बैंकमा जम्मा हुन आएका थिए । रिजर्ब बैंकले त्यो नोटबन्दी पछि दुई हजारका नोट छपाएर भुलसुधार गरेको थियो । जसलाई ४ वर्ष अगाडिदेखि चलनचल्तीबाट हटाउने कोशिष गरिएको थियो, तर शुक्रबारबाट मात्रै कार्यान्वयनमा ल्याउने काम भयो ।

निकट चुनाव अगाडि रिजर्ब बैंकले अगाडि सारेको यो कदमलाई महत्वपूर्ण रुपमा लिइएको छ । किनकी चुनावमा खर्च हुनसक्ने कालोधनलाई यो कदमले रोक्न सक्ने अनुमान गरिएको छ । ‘सामान्य चुनाव अगाडि यस्तो कदम चाल्नु बुद्धिमानी निर्णय हो, यी नोटहरु भण्डार गरेर प्रयोग गर्ने मानिसहरुले असुविधाको सामना गर्नुपर्ने हुन्छ’, एलटी एन्ड फाइनान्सकी सहायक प्रमुख तथा अर्थशास्त्री रुपा रेगेलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

अहिले चलनचल्तीको रुपमा ४४.२७ बिलियन डलर बराबरको दुई हजारको नोट रहेको बताइएको छ । यो भनेको भारतमा चलनचल्तीमा रहेको कुल मुद्राको जम्मा १०.८ प्रतिशत मात्रै हो । सोही कारण सो नोटमाथिको प्रतिबन्धले समाजमा कुनै समस्या सिर्जना नगर्ने धेरैको अनुमान रहेको छ ।

सरकारले जनतालाई आगामी सेप्टेम्बर ३० सम्म आफ्ना नोटहरु साट्न अनुरोध गरेको छ । यसले बैंकिङ क्षेत्रको निक्षेपमा सुधार हुने समेत अपेक्षा गरिएको रेटिङ एजेन्सी इक्रा समूहका प्रमुख कार्तिक श्रीनिवासनले बताएका छन् । यसका साथै बैंकिङ ब्याजदरमा पनि केही कटौती हुनसक्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरुले गरेका छन् ।

अहिले भारतीय जनता पार्टीका नेताहरुले रिजर्ब बैंकको निर्णयलाई स्वागत गरेका छन् । उनीहरुले जनतासमक्ष सो नोट धेरै मात्रामा नभएकाले समस्या सिर्जना नगर्ने तर्क गरेका छन् । तर, समग्र भारतीय बजारमा भने नोट प्रतिबन्धको असर देखापरेको छ । नोट प्रतिबन्धको कारण गुजरात लगायत कतिपय राज्यमा सुनको मूल्यमा वृद्धि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.