तिलोत्तमामा ट्राम रेल निर्माण गरेर वार्षिक ७५ करोड कमाउँछौं : प्रबन्ध निर्देशक शर्मा

  २०८० जेठ ७ गते ११:०९     विकासन्युज

काठमाडौं । तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले ट्राम रेल निर्माणको तयारी गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चक्रपथ क्षेत्रमा रेल सञ्चालनको योजना बनाएको रेल्वे कम्पनी अहिले बजेट व्यवस्थापनमा लागेको छ । नेपालकै पहिलो तिलोत्तमा ट्राम रेलले नगरपालिका साथै प्रदेशकै आर्थिक विकास तथा आन्तरिक पर्यटनमा टेवा पुग्ने बताइएको छ ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले केही समय अगाडि ट्राम रेलको शिलान्यास गरेका थिए । नगरपालिकाकै गौरवको आयोजनाका रूपमा अगाडि सारेको यो योजनामा स्रोत सुनिश्चित गर्न सकस परेको बताइन्छ । यस्तो अवस्थामा ट्राम रेलको निर्माण कार्य, बजेट व्यवस्थापन लगायत विषयमा तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्मासँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

तपाईंहरुले ट्राम रेल निर्माणको प्रक्रिया अगाडि बढाउनु भएको छ, के हो ट्राम रेल ?

ट्राम रेल मान्छेलाई सहज तरिकाले एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने विद्युतीय यातायात हो । यो रेल युरोपियन मुलुक तथा भारतमा पनि सञ्चालनमा छ । यो बिजुलीमा चल्छ भने निर्माण लागत तथा सञ्चालन खर्च पनि कम छ । यसका लागि अलग्गै बाटोको आवश्यकता पर्दैन । यसलाई गाडी हिँड्ने सडकमा ट्र्याक हालेर सञ्चालन गर्न सकिन्छ । हामीले नेपालमा सडकको बीचमा ४ फिट ८ इञ्चको ट्र्याक राखी ८ फिटको ट्राम रेल सञ्चालन गर्न खोजेका हौं । यसको धेरै विशेषता र नेपालको लागि उपयुक्त प्रविधि ठानी नेपालमा ल्याउन खोजिएको हो । वि.सं. २०६६ सालमा तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेको थियो । त्यो सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरू बसेर ट्राम रेलको आवश्यकतालाई मध्यनजर गरेर अगाडि बढाउने योजना आएको हो ।

तिलोत्तमाले लगानी सम्मेलन गरेको हुनाले नगर भित्रको चक्रपथमा ट्रामको स्थापना गर्ने योजनाका साथ अगाडि बढेका हौं । चक्रपथमा करिब ५० किलोमिटर ट्राम रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण गर्ने भनेर लागेका छौं । यो प्यासेन्जरमा मात्र नभई यसबाट सामान ढुवानी पनि गर्न पनि सकिन्छ । पहिला चक्रपथ क्षेत्रमा ट्राम रेललाई नमुना रेलको रूपमा विकास गर्ने भनेर हाम्रो तिलोत्तमा नगरपालिकासँग सम्झौता भएको छ । सम्झौता पश्चात् हामीले तिलोत्तमा पब्लिक रेल्वे कम्पनी दर्ता गर्यौं । नगर र रेल्वे कम्पनीले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा रेलको काम अगाडि बढाएका छौं । यसका लागि नगरपालिकाले पनि पहल गरिरहेको छ । प्रदेश, संघ, स्थानीय तह तथा पब्लिकको सेयर लगानीमा रेलको काम गर्न खोजेका हौं । धेरैलाई यसलाई रेल भनेर बुझ्नु भएको छ । यो रेल भन्दा विल्कुलै फरक छ ।

ट्राम रेल निर्माणको लगानी कसरी जुटाउनु भएको छ, कति लगानीमा रेल निर्माण हुन लागेको हो ?

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी ५ सय १ जना सेयर होल्डर भएर दर्ता भएको कम्पनी हो । सेयरधनीले कम्पनीमा १÷१ लाख रुपैयाँ लगानी गर्नु भएको छ । सेयरधनीबाट लगभग ५ करोड एक लाख रुपैयाँ उठेको छ । हामीले ५० करोडको कम्पनी दर्ता गराई ३५ करोड संस्थापकहरूबाट र बाँकी पब्लिक सेक्टरबाट उठाउने गरी कम्पनीको स्थापना गर्यौं । काम अगाडि बढाउन पूर्व सम्भाव्यताको अध्ययन गरी नगरपालिकाको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्यौं । अहिले डीपीआरको काम सम्पन्न गरी आवश्यक कामहरू अगाडि बढाएका छौं ।

ट्राम रेल निर्माणको लागि साढे ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छौं । भ्याट सहित १० अर्ब रुपैयाँ रकम लाग्ने देखिएको छ । सो लगानी लाग्ने देखिएता पनि स्रोत सुनिश्चित भइसकेको छैन । हामी अन्तर्राष्ट्रिय संघ तथा संस्थाबाट लगानी भित्र्याउन सकिन्छ कि भने काम गरिरहेका छौं । ट्राम रेलको प्रक्रिया तत्कालीन मेयर वासुदेव घिमिरेबाट अगाडि बढेको थियो । अहिलेका नगर प्रमुख रामकृष्ण खाँण पनि सकारात्मक हुनुहुन्छ । उहाँले केही समय अगाडि यसको शिलान्यास पनि गर्नु भएको थियो । उहाँ पनि लागि राख्नु भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषमा पनि यस विषयमा कुरा उठाएका छौं । रुपन्देही जिल्लाका पालिका सहित प्रदेशलाई राखेर यसको विषयमा कुरा गरोका छौं । सबै ठाउँबाट सकारात्मक कुरा आएको छ । पुँजी जुटाउन तर्फ पनि लागि रहेका छौं ।

तपाईंले अहिलेसम्म स्रोतको सुनिश्चित भएको छैन भन्नु भयो, पुँजी नै नभई काम कसरी अगाडि बढाउनु हुन्छ ?

लगानीको टुङ्गो नगरपालिकाले लगाउने भनेको छ । बजेटको छिटै सुनिश्चितता गर्न तर्फ हाम्रो ध्यान केन्द्रित छ । कसरी १० अर्ब रुपैयाँ जुटाउने भन्ने विषयको छलफल पनि भइरहेको छ । बजेटको लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग पनि छलफल गरेका थियौं । उहाँले पूर्वाधार विकासको लागि कम ब्याजदरमा विश्व बैंक र एडीबीसँग कुरा गर्नुहोस् भनेर भन्नु भएको थियो । कुन संस्थाबाट कति लिने रकम भन्ने ढुङ्गो छैन । पुँजी जुटाउने प्रक्रियामा छौं । छिट्टै पुँजी जुटाउँछौं । यसको लागि ११ जनाको कार्य समिति छ । त्यो समितिले आवश्यक कागजात सम्बन्धित ठाउँमा पेस गर्छ । पहल गर्ने काम गरिरहेको छ ।

नगरपालिकाले यसको लागि कति बजेट छुट्याएको छ ?

नगरपालिकाले बजेट व्यवस्थापनको लागि केन्द्र तथा संघसँग समन्वय गरेर अगाडि बढाउने भनेको हो । नगरपालिकाले यसको लागि बजेट छुट्याएको छैन । ट्राममा कति सेयर नगरले हाल्ने हो त्यो पनि टुङ्गो भइसकेको छैन । यसको केही महिना पछि टुङ्गो लगाउँछौं ।

रेलका कस्ता स्टेशन हुन्छन्, कहाँ–कहाँ यसका स्टेशन हुन्छन् ?

हामीले प्रत्येक २ किलोमिटरमा ट्राम रेलको स्टेशन राख्ने सोच बनाएका छौं । र, रेलको वर्कसप तथा पनि यहाँ बनाउने योजना बनाएका छौं । तिलोत्तमामा ट्राम रेल सञ्चालन आएपछि थप विस्तार गर्ने पनि योजना छ ।

कसत वर्षभित्र काम सम्पन्न हुन्छ ?

हामीले १५ किलोमिटर २ वर्षमा सक्छौं । यसको ट्र्याक बनाउँदै सञ्चालन गर्दै अगाडि बढाउँछौं । चक्रपथमा यो रेल बनाइ सकेपछि बिस्तारै अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने योजना हाम्रो हो । अहिले हामीले लक्ष्य लिएको ठाउँमा बनी सकेपछि लुम्बिनी, बुटवल भैरहवा जोड्ने एक सय किलोमिटर ट्«याक १० वर्ष भित्र निर्माण गर्ने लक्ष्य छ ।

केही समय अघि तिलोत्तमामा नगरपालिकाका नगर प्रमुखले ट्राम रेलको शिलान्यास गर्नु भयो, शिलान्यास गरेपछि काम अगाडि बढ्न सकेन नी ?

स्रोत जुटाउन सकेको भए काम हुन्थ्यो । ट्राम बनाउने ठाउँमा विद्युतीय पोल हटाउनु पर्ने छ । त्यसको लागि विद्युत प्राधिकरणमा पत्राचार गरेका छौं । अहिले अहिले सिभिलको कामहरू गरिरहेका छौं । पुँजीको काम जुटी सकेपछि बिस्तारै काम अगाडि बढ्छ ।

लगानी नै सुनिश्चित नगरी रेलको शिलान्यास गर्न हतार भएछ है ?

त्यस्तो होइन, यो निर्माण गर्नको लागि समय लाग्छ । यसको काम अगाडि बढाउनको लागि शिलान्यास गरेको हो । काम गर्दै गयो भने लगानी जुट्दै जान्छ भन्ने हाम्रो संकल्प थियो । कामको थालनीको लागि चाहिँ शिलान्यास भएको हो ।

तिलोत्तमामा ट्राम रेल निर्माण गर्नमा स्थानीयले विरोध जनाए, त्यसपछि काम अगाडि बढेन भन्छन् नी ?

रेल्वे कम्पनीसँग स्थानीयको विवाद छैन । नगरपालिकासँग चक्रपथको बाटो विस्तारको विषयमा उहाँहरूले बुझ्न खोज्नु भएको हो । रेल आउँदा थप बाटो विस्तार हुन्छ कि भनेर जानकारी लिन खोज्नु भएको छ । यसप्रति तिलोत्तमामा वासी पनि सकारात्मक नै हुनुहुन्छ । रेलका कारणले बाटो विस्तार हुँदैन । सडक विस्तार गर्नु पर्यो भने दुवै तिर बराबर बढ्छ । सम्भवतः नबढ्ला । उहाँहरू र नगरपालिका बिच सहमति भएको भनेर रेल्वेमा आइसकेको छ । अब त्यही अनुसार अगाडी बढ्छौं ।

ट्राम रेल कति क्षमताको हुन्छ, एक पटकमा कति संख्यामा यात्रा गर्न सकिन्छ ?

ट्राम रेलको डिब्बाहरु हुन्छन् । त्यी डिब्बालाई १/१ वटा गरी सञ्चालन गर्ने हो । एउटा डब्बामा ७० जना मान्छे अट्छन् । हामीले चक्रपथ भित्र पहिलो चरणमा ३ वटा ट्रामका डब्बा सञ्चालन गर्ने हो । ७० जनाका दरले ३ वटा डब्बामा २ सय १० जना यात्रा गर्न सकिन्छ । यात्रुको संख्या बढे पनि ट्रामका डब्बा थपेर सञ्चालन गर्न सकिन्छ ।

यो सञ्चालनमा आएपछि कति नेपालीले रोजगारी पाउँछन् र रेलको वार्षिक आम्दानी कति हुन्छ ?

यो सञ्चालनमा आएको खण्डमा सयौंले नेपालीले रोजगारी पाउने छन् । १५ किलोमिटरमा ६० जनाले रोजगारी प्रत्यक्ष पाउँछन् । चक्रपथ पुरैमा यो सञ्चालनमा आउँदा १२० बढीले रोजगारी पाउने अनुमान छ । हामीले यसको वार्षिक आम्दानी ७५ करोड रुपैयाँ हुने विश्वास गरेका छौं ।

नेपाल रेल कुदाउन सक्ने जनशक्ति छैन, यो सञ्चालन गर्दा पनि बाहिरबाटै त जनशक्ति ल्याउनु पर्ला होइन ?

ट्राम बसको स्वरुप जस्तै हुन्छ । यसलाई लामो समयसम्म सञ्चालन गर्न सकिन्छ । यसको लागि बाहिरबाट जनशक्ति ल्याउनु पर्दैन । नेपालीलाई नै यसको तालिम दिई ट्राम कुदाउन सक्ने बनाउँछौं । भारतका कोलकत्तामा ट्रामको मुख्य केन्द्र छ । त्यहाँ लगेर ट्राम सञ्चालन र यस प्रविधिको शिक्षा दिनेछौं । यसमा नेपाली जनशक्तिको परिचालन हुनेछ ।

यसको लागि तपाईंहरुले भाडा दर पनि तोक्नु भएको छ ?

हामीले यसको भाडा दर तोकेका छैनौं । सञ्चालनको तयारी रहेको बखतमा यसको निर्धारण गर्ने हो । हामीले आफ्नो हिसाबले यसको भाडा तोक्न मिल्दैन । भाडा दरको विषयमा पछि छलफल गर्छौं ।

यसले कति विद्युत खपत गर्छ ?

यसले विद्युतको खपत कम मात्रामा गर्छ । कति खपत हुन्छ भन्नेका कुराको जानकारी चाहिँ सञ्चालनमा आए पछि थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.