२०८० जेठ ४ गते १७:४७ विकासन्युज
काठमाडौं । सुन्दर अटो ईन्जिनियरिङले गन्तव्य ईभी १००-एस मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकलको सार्वजनिक गरेको हाे । कम्पनीले आफ्नै डिजाइन तयारी गरी सो इलेक्ट्रिक मोटरसाइकल बनाएको हो ।
गन्तव्य मोटरसाइकल नेपालको प्रविधि र स्रोत साधनको प्रयोग गरी निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।
‘नेपाल सरकारले अहिले विद्युतीय सवारीको प्रोत्साहन गरिरहेको छ, यस्तो अवस्थामा हामीले स्वदेशमा नै ईभी मोटरसाइकल तयार गरेका छौं, यो नेपालको बाटोमा सुहाउँदो मोटरसाइकल हो,’ उनले भने ।
अध्यक्ष थापाले उक्त मोटरसाइकलमा ३० देखि ४० प्रतिशत सामाग्री नेपाली र बाँकी अन्य देशबाट ल्याएर तयार गरिएको जानकारी दिए । ‘गन्तव्य ईभीको जाँच पास सरकारी निकायबाट भइसकेको छ, अहिले नम्बर प्लेट प्राप्तिको तयारीमा छौं,’ उनले भने ।
गन्तव्य मोटरसाइकलमा १५०० वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ । सुन्दर अटोका अनुसार यस बाइको अधिकतम गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ । यसै गरी यस बाइकको रेन्ज १००-१२० किलोमिटर रहेको छ ।
यस्तै, गन्तव्यको ग्राउन्ड क्लियरेन्स १५० मिलिमिटर छ भने याे फाइबर र पलास्टीकले बनेकाे हाे । थापाका अनुसार गन्तव्य ईभी १००-एस मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । उनका अनुसार आजबाट एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै बाइक प्राप्त गर्न सक्ने छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.