उदयपुरबाट ९ हजार युवा रोजगारीका लागि विदेसिए

  २०८० जेठ ३ गते १५:२५     विकासन्युज

उदयपुर । उदयपुरबाट एक वर्षभित्र ९ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा विदेसिएका छन् ।
सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतका अनुसार जिल्लाबाट मलेसिया जाने युवाको सङ्ख्या सबैधन्दा धेरै छ । मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने गरेका उनले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ सालमा मात्रै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या आठ हजार आठ सय ६८ छन् ।
‘विगतका वर्षमा सीप तथा तालिम नलिई युवाहरु वैदेशिक रोजगारीमा जाने गरेकाले उनीहरुले विदेशमा धेरै समस्या झेल्नु परेको थियो’, सामीका संयोजक बस्नेतले भने । अहिले स्थानीय पालिकाको समन्वयमा वैदेशिक रोजगारीमा जान चाहनेलाई कामसम्बन्धी विभिन्न सीप र तालिम दिनुका साथै काम सिकेर जान प्रेरणा, सल्लाह, सुझाव दिन थालेपछि वैदेशिक रोजगारीमा जाँदा समस्या कम आउन थालेको उनले बताए । यसअघि रोजगारीका लागि जाने युवाले सीपको अभावका कारण कम तलब पाउने, अपहेलित हुनुपर्ने र कम्पनी छाडेर भाग्नुपर्ने जस्ता समस्या झोल्ने गरेका बस्नेतको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.