अंशबण्डामा समस्या देखिएपछि ४ आनाभन्दा सानो जग्गा पनि कित्ताकाट गर्न पाउने

  २०८० जेठ २ गते १९:०३     विकासन्युज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले सानो जग्गा पनि खण्डीकरण गर्न पाउने गरी भूउपयोग नियमावली संशोधनको तयारी भइरहेको बताएका छन् । सचिव रेग्मीले वि.सं. २०७९ जेठ २३ गते सार्वजनिक गरिएको भूउपयोग नियमावलीलाई संशोधन गर्ने गरी छलफल भइरहेको बताएका हुन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको भूमि र आवास सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा बोल्दै रेग्मीले १३० वर्गमिटर भन्दा सानो जग्गामा पनि आवास बनाउन पाइने गरी नियमवाली संशोधन भइरहेको बताएका हुन् । उनका अनुसार सानो इकाईमा कित्ताकाट गर्न पाउने गरी नियमावली संशोधन गर्ने तयारी रहेको छ ।

‘नियमावलीमा १३० वर्गमिटर भन्दा सानो जग्गामा आवास बनाउन नपाइने भनिएको छ, जस्तो ४/५ आना जग्गा छ भने २ जना छोरालाई ४ आना भन्दा कम हुने गरी बाँड्न मिल्दैन, अहिले अंशबण्डामा पनि समस्या आएको छ, अंशबण्डामा १३० वर्गमिटरभन्दा सानो जग्गालाई पनि कित्ताकाट र मोही लागेको जमीन बाँडफाँट गर्न सहजीकरण गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

उनका अनुसार विद्यमान भूमि नियमावलीलाई संशोधन गर्ने प्रस्ताव मन्त्रीपरिषदमा पुगेको छ । मन्त्रीपरिषदले सो प्रस्तावलाई आर्थिक पुर्वाधार समितिमा पठाएको र आर्थिक पुर्वाधार समितिले छलफल गरेर पुनः मन्त्रालयमा पेश गर्ने तयारीमा रहेको छ । उनले आर्थिक सामाजिक रुपान्तरणका लागि भूमिको सही व्यवस्थापन हुनु पर्ने बताए । साथै, व्यवसाय विस्तारका लागि भूमि महत्वपूर्ण स्रोत रहेको उनको भनाइ छ ।

‘भूमिको वितरण प्रणाली व्यवस्थित हुनु पर्छ, करिब ३ करोड जनसंख्यामा ७० लाख घरपरिवार छन्, १५ लाख जनतासँग जमीन छैन, उहाँहरुमाझ जग्गाको पहुँच पुर्याउनुपर्छ, भूमि आफैंमा व्यवसाय श्रृजना गर्न सक्ने शक्ति भएको स्रोत हो, अन्य व्यवसायका लागि भूमिको आवश्यकता पर्छ,’ उनले भने ।

सरकारले वि.सं.२०७२ सालको भूउपयोग नीतिमा योजनावद्ध विकास, व्यवस्थित शहर, कृषि क्षेत्रको संरक्षण हुनुपर्ने लगायतका व्यवस्था गरेको छ । भूउपयोग नियमावलीले भूमिलाई १० वटा क्षेत्रमा वर्गीकरण गर्नु पर्ने व्यवस्था गरेको भएपनि हालसम्म १६० पालिकाले मात्रै कृषि क्षेत्रलाई वर्गीकरण गरेको उनको भनाइ छ । भूमि वर्गीकरण, खण्डीकरण, कित्ताकाट नगर्दा अहिले समस्या आएको उनले बताए । भूमि वर्गीकरण गर्ने जिम्मेवारी स्थानिय तहलाइ दिइएको भएपनि विभिन्न कारणले गर्न नसकेको उनको भनाइ छ ।

‘जस्तो मसँग १ रोपनी जग्गा छ, १ रोपनी जग्गालाई अर्काे व्यक्तिलाई हस्तन्तरण गर्न सक्छु तर, त्यो जग्गालाई ४ आना वा आधा रोपनी गर्न सक्दैन, अहिलेको समस्या भूमि वर्गीकरण नभएका कारण आएको हो,’ उनले भने ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले विश्व अर्थतन्त्र संकट परेको बेला नेपाल पनि जर्जर अवस्थामा रहेको बताए । उनका अुनसार विषम् परिस्थितीमा सबैभन्दा बढी घरजग्गा क्षेत्र मार र चपेटामा परेको छ । चालू आर्थिक वर्षको बजेटले कम्पनीबाट मात्रै घरजग्गाको कारोबार र विदेशीहरुलाई अपार्टमेन्ट खरिद गर्न पाउने गरी व्यवस्था गरेको भएपनि हालसम्म कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ ।

‘नेपालको कूल भूमि १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर रहेको छ, करिब ३७ प्रतिशत जमीन नीजि क्षेत्रको स्वामित्वमा छ, ३७ प्रतिशत जमीन भनेको करिब ५५ लाख हेक्टर क्षेत्रफल हुन आउँछ, ५५ लाख हेक्टर जमीनमध्ये १० प्रतिशत मात्रै खरिद बिक्री भएको छ भने करिब १० लाख हेक्टरमा घरजग्गा कारोबार भएको हुन आउँछ,’ उनले भने, ‘यदि त्यो जमीनका प्रतिहेक्टर ५ करोड रुपैयाँका दरले मूल्याङ्कन गर्ने हो भने ५ सय खर्ब भन्दा बढी लगानी जमीनमा रहेको देखिन्छ, ५ सय खर्ब लगानी हाल कायम रहेको बजेटको २० वर्ष बराबर हुन आउँछ, नेपालमा ७५ लाख ५२ हजार ६६ घरधुरी छन्, मोटामोटी १० लाखदेखि ५ करोडसम्मका घरहरु बनेका छन् । यसलाई औषतमा २५ लाखका दरले मूल्याङ्कन गर्ने हो भने १८८ खर्ब लगानी घरहरुमा रहेको देखिन्छ, ३० वर्षका लागि पुग्ने बजेट बराबर घरजग्गामा लगानी भइसकेको छ, अहिलेसम्म घरजग्गामा ७ सय खर्बभन्दा बढी लगानी भएको मोटामोटी देखिन्छ ।’

तर, राज्यले यो क्षेत्रलाई निराश बनाउने काम गरिरहेको उनले गुनासो गरे । १० हजारभन्दा बढी व्यवसायीहरु घरजग्गा क्षेत्रमा आवद्ध रहेको उनले बताए । कृषि जमीनको संरक्षण हुनु पर्छ भन्ने मनोविज्ञान हुँदा हुँदै पनि विगतमा जग्गासम्बन्धी नीति ल्याउन नसक्दा अहिलेको समस्या आएको उनको भनाइ छ । घरजग्गा ऐन र भूउपयोग नियमावलीले घरजग्गा कारोबार गर्ने कार्यालयमा विकृति र विसंगती बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.