शहरमा जनसंख्याको चाप बढेका कारण जग्गा अभाव हुन थाल्यो : मन्त्री श्रेष्ठ

  २०८० जेठ २ गते १३:२४     विकासन्युज

काठमाडौं । भूमि व्यवस्था, शहरी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले शहरमा जनसंख्याको चाप बढेका कारण जग्गा अभाव हुने गरेको बताएकी छिन् । भूमि र आवास सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले शहरमा जनसंख्याको चाप बढ्दै गएपछि जग्गा अभाव हुने बताएकी हुन् ।

उनले निकट भविष्यमा विश्वभर दुई तिहाईभन्दा बढी मानिसहरु शहरी क्षेत्रमा बसोबास गर्ने बताइन् । नेपाल एशियाकै कम शहरीकरण भएको देशहरुमध्ये भएतापनि विगतका दशकहरुमा देशको स्थलीय (स्पासियल), जनसांख्यिक र आर्थिक क्षेत्रमा भइरहेको परिवर्तनले शहरीकरणको गति तीव्र रहेको र रहिरहने अपेक्षा गरिएको उनको भनाइ छ । नेपालको संविधानले समावेशी विकासको अवधारणा अवलम्वन गरेको उनले बताइन् ।

‘आवासको हकलाई मौलिक हकको रुपमा अंगिकार गरी सबै नागरिकलाई सुरक्षित, उपयुक्त र वातावरणमैत्री आवासको परिपूर्ति गर्नुपर्ने व्यवस्था रहेको छ, विश्वव्यापी रुपमा द्रुतगतिमा शहरीकरण भइरहेको अवस्थामा नेपालमा पनि हाल २९३ नगरपालिका भएसंगै देशको कूल जनसंख्याको दुई तिहाई जनसंख्या नगरपालिका क्षेत्रमा बसोबास गरिरहेको देखिन्छ,’ उनले भनिन् ।

शहरमा धन आर्जन गर्न प्रशस्त कामहरु पाइने, सेवासुबिधाहरु प्रयाप्त हुने र गाउँमा ठीक उल्टो अवस्था रहेको हुँदा शहरतिर आकर्षित भइरहेको उनले बताइन् । शहरमा बसाँइसराई बढेका कारण आवास लगायत शहरी पूर्वाधार सेवाहरुमा चाप परेको र सुविधा अप्रयाप्त हुने उनको भनाइ छ ।

‘शहरतिर बढीरहेको जनसंख्याको चापले गर्दा भूमी र आवासको माग बढी रहेको छ, सीमित स्रोत र साधन हुँदा सरकारको एकल प्रयासले आवास लगायत अन्य पूर्वाधारहरुको माग परिपूर्ति गर्न सम्भव नभएकोले तीनै तहका सरकार, नीजि क्षेत्र र समुदायको सामुहिक प्रयासबाट मात्र भूमि र आवास क्षेत्रलाई व्यवस्थित गर्न सकिन्छ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.