टोपबहादुर र नारायण पौडेलको व्यवसायिक कनेक्सन, कोरोनाकालमा बनाएका थिए महाबिर प्यालेस

  २०८० जेठ १ गते १७:१८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जाल नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको विषय चर्चामा छ । अनुसन्धानको क्रममा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि अनुसन्धानमा तानिएका छन् । यही विषयकाे अनुसन्धानको दायरामा नेकपा एमालेका सचिव तथा सांसद टाेपबहादुर रायमाझी पनि पक्राउ परेका छन् ।

रायमाझी आइतबार राति सवा ८ बजेतिर काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परे । प्रहरीको फरार सूचीमा रहेका उनी आइतबार बुढानीलकण्ठको उनको साथीको घरबाट पक्राउ परे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनलाई आइतबार राति बूढानीलकण्ठको पासिकोटस्थित साथीको घरमा भेटाएको थियो ।

पुरानो चिनजान भएका अर्घाखाँचीकै गाउँले नारायण पौडेलको घरमा उनी फेला परेका थिए । उनी लुकेको घर अर्थात् उनलाई लुकाउने नारायण पौडेलको पनि अहिले व्यापाक चर्चा भइरहेको छ । पौडेल को कुन् भन्ने विषयमा पनि धेरैको चासो छ ।

रायमाझी र पौडेल लामो समयदेखिको साथी रहेको बुझिएको छ । पौडेल टोपबहादुरसँग घनिष्ट छन् । सुरुवातदेखि नै टोपबहादुरसँगको व्यवसायीक सहकार्य पनि रहेको स्रोतको भनाइ छ ।

पौडेललाई रायमाझीले विभिन्न राजनीतिक नियुक्ति पनि दिलाएका थिए । पौडेल राष्ट्रिय खेलकुद परिषद्को सदस्य र ग्रामीण खानेपानी फण्ड बोर्डको समेत सदस्य उनै रायमाझीकै पहुँचमा नियुक्त भएको स्रोतको दाबी छ ।

रायमाझीकै पहलमा पौडेल नगर विकास परिषद्मा पनि नियुक्ति भएको बताइन्छ । कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुखसमेत रहेका पौडेलले २०६४ देखि सोही क्याम्पसमा अध्यापन गर्दै आएका छन् । त्यस बाहेक उनी पर्यटन व्यवसायीका रुपमा पनि परिचित छन् ।

उनको विभिन्न होटलहरुमा लगानी छ । पौडेल होटल तिब्बत होलिडे इन ठमेलका लगानीकर्ता हुन् । सो होटलमा धनबहादुर श्रेष्ठसँग उनले सहकार्य गरेका छन् । सोही होटलमा २०६३ मा पुष्प कमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई सार्वजनिक गरिएको थियो ।

पौडेलको गौशालामा रहेको होटेल रामेश्वरममा पनि लगानी रहेको बुझिएको छ । यस्तै, उनले कोरोनाको समयमा सोल्टीमोडमा रहेको महाबिर प्यालेस पनि निर्माण गरेका थिए । भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप लगाएका रायमाझीले पौडेलाई सोही समयमा सोही होटलमा लगानी गरेको हुन सक्ने अनुमान धेरैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.