श्रमिकले विदेशबाट दुईवटा फोन ल्याउन मिल्ने, के के कागज चाहिन्छ ?

  २०८० वैशाख ३१ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागु गर्ने भएको छ । उक्त सिष्टम लागू भएसँगै विदेशमा ६ महिना काम गरेर फर्किएका नेपालीले मात्रै निःशुल्क रुपमा २ वटा मोबाइल फोन ल्याउन पाउनेछन् ।

भन्सार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउँनेछन् ।

श्रम स्वीकृति लिई लगातार ६ महिना कार्यगरी नेपाल फर्किदा १ थान अतिरिक्त मोवाइल ल्याउदा कुनै पनि भन्सार राजश्व बुझाउनु पर्दैन । तर उक्त फोन सञ्चालन गर्न भन्सार घोषणा गर्नुपर्दछ । भन्सारले तपाईको घोषणा बमोजिम प्रज्ञापन पत्र तयार गरेर दिन्छ । उक्त प्रक्रियाबाट आएको फोन दूरसञ्चार प्रकृयामा पुनः दर्ता गर्नुपर्दैन भने स्वत:  दर्ता हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम श्रमिकले बुझाएको पासपोर्टका आधारमा प्रज्ञापनपत्र दिईने बताउँछन् ।

‘एमडीएमएस भोलिदेखि लागुहुन्छ, २ वटा फोन ल्याउँदा के के आवश्यक पर्छ भन्ने होला, भिसा लागेको पासपोर्टका आधारमा हामीले दर्ता गछौँ’, उनले भने ।

उनले श्रमिकले दिएको पासपोर्टका आधारमा उनकै नाममा मोबाइल फोन दर्ता हुने बताए ।

‘एक वटा मात्र फोन ल्याउन पाईने भएपछि व्यवसायीहरुले श्रमिकलाई भरिया बनाएर फोन ल्याउछन् कि भन्ने शंका देखिएको छ, तर हामीले श्रमिकले देखाएको पासपोर्टका आधारमा मोबाइलको इएमआइ नम्बर दर्ता गछौँ ।’

कार्यालयले पछिल्लो समय ६ वटा काउन्टर थप गरेको छ । यसअघि दैनिक ३ वटा काउन्टरबाट मात्रै सेवा दिदै आएको कार्यालयले ६ वटा काउन्टर थप गरेर हाल दैनिक ९ वटा काउन्टरबाट सेवा दिँदै आएको छ । ९ वटा काउन्टर थप हुँदा प्रज्ञापन पत्र लिन लामो लाइनमा बस्नु नपर्ने उनले बताए ।

यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुहरुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।

उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नु पर्नेछ हुन्छ ।

यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु गर्ने तयारी गरेको थियो । प्राधिकरणले उक्त सिष्टम लागु गर्ने तयारी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.