धनगढीमा विद्युतीय रिक्सा चलाएर स्वरोजगार बन्दै युवा

  २०८० वैशाख ३१ गते १४:३६     विकासन्युज

धनगढी । वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा अटोरिक्सा चालक शोभाकान्त उपाध्याय धनगढीको सडक छेउमा रिक्सा अड्याएर पैदल हिँडेका यात्रुको खोजी गरिरहेको भेटिए ।
अन्दाजी ६५ वर्षीय उपाध्यायले विगतमा छोराको विवाह गर्दा लागेको ऋण बुझाउन टन्टलापुर घाममा रिक्सा चलाएर कामाइ गर्नुपरेको दुखेसो सुनाए ।  ‘दुई छोरा भारतमा काम गर्छन्, एउटा छोरा यही गाडी चलाउँछ’, उनले भने, ‘छोराको विवाह गर्दा लागेको पाँच लाख रुपैयाँ ऋण तिर्नै धौधौ परेपछि रिक्सा चलाएर कमाइ गर्नुपरेको हो ।’
धनगढीमा छ धुर जग्गामा बनेको कर्कटपाताको छानो भएको घर छ । उनले १० वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । यसअघि स्थानीय एक निजी विद्यालयमा रिक्सा चालकका रुपमा काम गरेका उनले युवा अवस्थामा भारतमा मजदुरीको काम गरेका थिए । ‘अटो रिक्सा चलाउँदा सुरुका वर्षमा राम्रै कमाई हुन्थ्यो, हाल रिक्सा धेरै हुँदा यात्रु नपाएर कमाई घटेको छ’, उपाध्यायले थपे, ‘कमाई घटे पनि रिक्साले रोजगारी दिँदा सन्तुष्टि छ ।’
अर्का अटो रिक्सा चालक ६३ वर्षीय अरुण पुजाराले आफ्ना हातपाउ छउञ्जेल आफ्नै देशमा काम गरेर खाने बताए । ‘विदेशमा गएर तल्लोस्तरको काम गर्न तयार हुने तर आफ्नै देशमा काम गर्न लाज मान्ने र इज्जत जाने कुरा गर्नेको प्रगति हुन सक्दैन’, उनले भने, ‘आफ्ना हातगोडा चलेसम्म काम गरेर खाने हो ।’
एकदशक बढी समय भारतको देहरादुनमा मजदुरी गरेका पुजाराका पाँच छोरा सबैले स्वरोजगारी गर्छन् । आफ्नो कमाइप्रति सन्तुष्टि व्यक्त गर्दै उनले थपे, ‘आफू कुनै समयमा महिनामा एक लाख रुपैयाँसम्म कमाउँथे ।’ अहिले दिनमा पाँच सय रुपैयाँदेखि सात सयसम्म कमाइ हुने गरेको उनको भनाइ थियो ।
धनगढीमा पछिल्ला वर्षमा विद्युतीय रिक्साको व्यवसाय फस्टाएको छ । बजार क्षेत्रका यात्रुको आवागमनका लागि सजिलो साधनका रुपमा रहेको यो व्यवसायबाट धेरैले रोजगारी पाएका छन् । घरायसी काममा मात्रै सीमित रहेका रिक्सा चलाएर कमाइ भइरहेको रिक्सा चालक गौरी चौधरीले बताए । उनले भने, ‘घरमा कमाइ हुने अर्को बाटो छैन, रिक्सा चलाएर हुने कमाइले जासोतसो जीवन गुजारा भइरहेको छ ।’
यहाँले महिलाले पनि रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् भन्दै चौधरीले महिलाले रिक्सा चलाएको अनौँठो मान्ने सोच र प्रवृत्ति कतिपय ठाउँमा अझै देखिने भनाइ थियो । ‘यस्तो सोचलाई निरुत्साहित गर्दै धेरै महिला विद्युतीय रिक्सा चलाएर आयआर्जन गर्न थालेका छन्’, उनले भने । विद्युतीय रिक्सा चलाएर उनले दैनिक  सात/आठ सय रुपैयाँसम्म कमाइ गरिरहेका छन् ।
पछिल्ला वर्षमा सहरी क्षेत्रमा भित्रिएका विद्युतीय रिक्सा बेरोजगार भएर बसेकाका लागि मुख्य रोजगारको माध्यम बन्न थालेको रिक्सा मजदुरले बताएका छन् । स्थानीय रिक्सा चालक भीमबहादुर चौधरीले भने, ‘रिक्सा चलाउने कामबाट भइरहेको आयआर्जनबाट घरधन्दा चलाउन सहज भएको छ ।’
विद्युतीय रिक्सा ‘रिचार्ज’ गरेर चलाउन मिल्छ । एक पटक ‘रिचार्ज’ गर्दा झण्डै एक सय किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ । पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय रिक्सा व्यवसायले धेरै योगदान दिएको छ । यस व्यवसायप्रति आकर्षण बढ्दै जाँदा बजार क्षेत्रमा रिक्साको सङ्ख्या पनि बढ्दै गएको छ ।
छोटो दूरीमा यात्रा गर्न सहज र सस्तो माध्यम बनेको स्थाीयको भनाइ थियो । विद्युत्बाट चार्ज गरेर चलाउन सकिने भएकाले पछिल्लो समय विद्युतीय रिक्सासँगै स्कुटर र विद्युतीय साइकलको प्रयोग पनि बढ्दै गएको छ । विद्युतीय रिक्सा व्यवसाय फस्टाउँदै गए पनि यसको दर्ता गरी रुट परमिट लिन र चालक अनुमतिपत्र पाउन सास्ती खेप्नु परेको रिक्सा मजदुरको गुनासो छ ।
यातायात व्यवस्था कार्यालयले यी रिक्सा दर्ता र चालक अनुमतिपत्र प्रदान गर्दछ । सुरुका वर्षमा धनगढी उपमहानगरपालिका कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था थियो । धनगढीमा झण्डै तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा छन् । विद्युतीय रिक्सा सञ्चालनसँगै दुई दशकअघिसम्म सञ्चालनमा रहेका परम्परागत तीनपाङ्ग्रे रिक्साको व्यवसाय पूर्णरुपमा विस्थापित भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.