१५६ प्रतिशतले बढ्यो क्यूआर कारोबार, डिजिटल भुक्तानीमा फड्को मार्दै

  २०८० वैशाख ३१ गते १४:०४     विकासन्युज

काठमाडौं । पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गमा जोड दिएपछि कारोबार डिजिटलबाटै हुन थालेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको चैतसम्म कनेक्ट आइपीएस, मोबाइल बैंकिङ्ग, वालेट, इन्टरनेट बैंकिङ्ग लगायतको कारोबार बढेको छ । गत वर्षको तुलनामा डिजिटल कारोबार ह्वात्तै बढेको हो ।

राष्ट्र बैंकका अनुसार आरटीजीएस, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका डिजिटल औजार प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । साथै, कारोबारको संख्या र कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार डिजिटिल भुक्तानीमा फड्को मारेको देखिन्छ । एक वर्षको अवधिमा कनेक्ट आईपीएसमार्फत् ४३ लाख ५७ हजार २४२ पटक ३ खर्ब ८० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ३६ लाख ५ हजार ४३० पटक २ खर्ब २९ अर्ब रुपैयाँ बरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत बढी रकम कनेक्ट आईपीएस मार्फत कारोबार भएको देखिन्छ ।

यस्तै, वालेटमाफर्त हुने कारोबार पनि बढेको छ । चैतसम्म १ करोड ८६ लाख ६७ हजार पटक १९ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करेड ४४ लाख ९४ हजार ८९३ पटक १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा ३९ प्रतिशतले वालेटको कारोबार बढेको हो ।

डिजिटल कारोबार बढ्दै गएपनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणालीमार्फत् हुने कारोबार रकम भने ४३.८८ प्रतिशत घटेको छ । चैत मसान्तसम्म ७१ हजार ७७० पटक २४ खर्ब ३७ अर्ब रुपैयाँको कारोबार भएको छ । गत वर्षको चैतमा ६५ हजार ३७६ पटक ४३ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकम घटेपनि संख्या भने ९.७८ प्रतिशत बढेको छ ।

मोबाइल बैंकिङ्ग मार्फत् हुने कारोबार पनि ह्वात्तै बढेको छ । चैत मसान्तसम्म ५६.३४ प्रतिशत बढेर २ करोड ५७ लाख ३५ हजार ७५ पटक कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड ६४ लाख ५९ हजार ९६३ पटक कारोबार भएको थियो । साथै कारोबार संख्या बढेसँगै रकम पनि बढेको छ । चैतमा कारोबार रकम ८० प्रतिशत बढेर २ खर्ब ७ अर्ब रुपैयाँ कारोबार भएको छ । गत वर्षको चैतसम्म १ खर्ब १५ अर्ब रुपैयाँ मोबाइल बैंकिङ्ग कारोबार भएको थियो ।

क्यूआरमा आधारित भुक्तानी १५६ प्रतिशत बढेर २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा क्यूआरमा आधारित भुक्तानी संख्या १८१ प्रतिशत बढेर ७६ लाख ४४ हजार ७९१ पटक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.