बीमा कम्पनी ठूलाे हुँदैमा प्रिमियम सस्तो हुँदैन, रिटेन्सन क्यापासिटी बढ्छ

  २०८० वैशाख ३१ गते १२:१९     विकासन्युज

बीमा कम्पनीहरु भटाभट मर्ज भैरहेका छन् । प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर सगरमाथा लुम्बिनीको मर्ज गराउँदा तपाईको आफ्नै अनुभव पनि छ । बीमा कम्पनीहरुको मर्ज कति फलदायी भैरहेको छ ?

नियामक निकायले पहिला किन लाइसेन्स वितरण गरियो र पछि किन मर्जर गराइयो भनेर समीक्षा गर्नुपर्छ । सानो बजारमा धेरै कम्पनी भएपछि सेवा सुविधाको पहुँच वृद्धि भयो तर त्यो सेवा सुविधा स्वस्थ रुपमा हुन सकेन । बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेपछि ग्राहक र कम्पनी दुवैलाई बेफाइदा हुन्छ । त्यसैले कम्पनीहरुबीच मर्जर आवश्यकता बन्यो । मर्ज गरेर कम्पनी घटाउँदा स्वस्थ प्रतिस्पर्धा बढ्छ ।

त्यस्तै मर्जपछि कम्पनीहरुको पुँजी बढेको छ । जोखिम धारण गर्ने क्षमता बढेको छ । कम्पनीको रिटेन्सन क्यापासिटी बढेको छ । पुर्नबीमा गर्दा विगतमा कम्पनीहरुले ठूलो रकमको बीमा पोलिसीमा २ प्रतिशत जोखिम आफूले लिएर ९८ प्रतिशत जोखिमको पुर्नबीमा गरेका हुन्थ्ये भने अव ५ प्रतिशत जोखिम आफैले बहन गर्न सक्छन् । सानो रकमका बीमा गर्दा सबै जोखिम कम्पनी आफैले लिन सक्छ । यसले पुर्नबीमा बापत विदेशिने डलर कम हुन्छ । देशको अर्थतन्त्रलाई पनि थोरै भएपनि लाभ हुन्छ । पछिल्लो समय जलवायु परिवर्तन र अन्य कारणले बीमा क्षतिपूर्ती बढेको बढ्यै छ । रिइन्स्योरेन्स कम्पनीले पनि प्रिमियम दर बढाइरहेको अवस्थामा नेपाली बीमा कम्पनीको रिटेन्सन क्यापासिटी बढ्नु राम्रो हो । कम्पनीहरुको आत्मविश्वस पनि बढ्छ । त्यसैले गर्दा मेरो विचारमा मर्जरपछि सिनर्जी आउँछ तर समय लाग्छ ।

रिइन्स्योरेन्स गर्दा बाहिरिने विदेशी मुद्रा कति घट्न सक्छ ?

तथ्याङ्कमा यति नै घट्छ भनेर भन्न कठिन हुन्छ । तर रिइन्स्योरेन्स कम्पनीको कन्फिडेन्स बढ्दा, रिटेन्सन क्यापासिटी बढ्दा रिइन्स्योरेन्सका लागि बाहिर जाने मुद्रा घट्छ नै । सँगसँगै ध्यान दिनुपर्ने कुरा के छ भने देश जति विकसित हुन्छ, बीमाको पहुँच पनि त्यति नै धेरै वृद्धि हुँदै जान्छ । बीमा कम्पनीको सेवामा पनि वृद्धि भएपछि प्रिमियम पनि बढ्छ । कम्पनीको जोखिम पनि बढ्छ । कारोबार रकम बढ्दा पुर्नबीमाको प्रिमियम पनि बढ्न जान्छ ।

मर्जरले कर्मचारीलाई के फाइदा हुन्छ ? ग्राहकलाई के फाइदा हुन्छ ? र लगानीकर्तालाई के फाइदा हुन्छ ? मर्जरले कर्मचारीको समग्र स्तरोन्नति हुँदैन । कुनै कर्मचारीको तरलभत्ता वा प्रमोशन बढाउनै पर्नेछ भने बढ्नुपर्छ । सलिको इन्स्योरेन्सको हरेक २/३ वर्षमा कर्मचारीको तलबभत्ता र तह बढाउनुपर्ने नियम छ । मर्जरले कर्मचारीको आय आर्जनमा कुनै वृद्धि हुँदैन । कर्मचारीको तलबभत्ता वा प्रमोशन प्रक्रियागत रुपमा व्यवस्थापनले गछै ।

मर्जरले प्रिमियम दर घटबढ हुँदैन । बीमा कम्पनी ठूलाे हुने वित्तिकै बीमाको प्रिमियम सस्तो हुँदैन । नेपालमा मात्रै नभएर विदेशमा पनि रिइन्स्योरेन्सको बजारलाई जलवायु परिवर्तनले धेरै असर गरेको छ । बीमा व्यवसायमा जोखिमको आकार बढेको हुँदा प्रिमियम दर घट्छ भनेर कल्पना नगरे पनि हुन्छ । तर बीमा कम्पनीले ग्राहकलाई दिने सेवाको स्तर राम्रो हुनेछ ।

बास्तवमा मर्जरपछि लगानीकर्ताले पाउने प्रतिफल तत्काल बढ्दैन । किनभने पूँजीको आकार कम हुँदा दिने प्रतिफल र पूँजीको आकार बढी हुँदा दिने प्रतिफलमा फरक पर्छ । तर दीर्घकालमा लगानीकर्ताले राम्रो लाभ लिन सक्छन् । कम्पनी ठूलो हुँदा लगानीक सुरक्षित पनि हुन्छ ।

समग्रमा हेर्ने हो भने मर्जरले कसैलाई पनि फाइदा देखिएन नि ? के नियामकलाई मात्रै सहज हुनका लागि मर्ज हुनुपर्ने हो ?

त्यो होइन । बल्ल हामी मर्जरको सुरुवाती चरणमा प्रवेश गरेका छौं । यसलाई एउटा अवसरको रुपमा लिनुपर्छ । आज बिउँ रोपेर भोलि नै फल प्राप्त हुँदैन । मर्जरले प्रतिफल दिन्छ तर आजको भोलि होइन । आज मर्ज भएपछि भोलि नै कर्मचारीको तलबभत्ता वृद्धि हुँदैन । लगानीकर्ताले दोब्बर प्रतिफल पाउँदैनन् । अब मर्जरबाट सिनर्जी निकाल्ने गरी काम गर्न जरुरी छ । मर्जर गरेपछि कम्पनी पूँजीमा बलियो हुन्छ । जसले रिटेन्सन क्यापासिटी बढ्छ । रिइन्स्योरेन्समा जाने केही जोखिमहरु कम हुन्छ । निरन्तर आइरहने दाबीलाई बीमा कम्पनीहरुले नै ब्यहोर्न सक्छन् । जोखिम बहन गर्ने क्षमता अनुसार प्रिमियम तोकेर पोलीसीहरु जारी हुन्छन् । अध्ययन विश्लेषण गरेर कम्पनीले नयाँ बीमा पोलिसी जारी गर्छ । व्यवसायको आकार बढ्छ । कम्पनीको व्यवस्थापन नयाँ तरिकाबाट हुन्छ ।
मर्जपछि कर्मचारी व्यवस्थापन कसरी भैरहेको छ ?

मर्जरमा सबैभन्दा ठूलो समस्या मानव स्रोत व्यवस्थापन हो । कर्मचारी व्यवस्थापन गर्न ठूलै चुनौति हुन्छ । साविक सगरमाथा इन्स्योरेन्सबाट ४ सय बढी र साविक लुम्बिनी जनरलको २५० गरी ७ सयको हाराहारीमा कर्मचारी व्यवस्थापन गर्नु परेको छ । बीमा सम्बन्धी बजारमा सचेतना दिने, व्यवसाय ल्याउने कर्मचारी र कार्यालय भित्र काम गर्ने कर्मचारी समान हुन्छन् । यसरी बराबर हुँदा सिनर्जी ल्याउन कठिन हुन्छ । कर्मचारी व्यवस्थापन कसरी गर्ने भनेर भूमिका खेल्नु परेको छ । बीमा पोलिसी ल्याएपछि मात्रै फिल्डका कर्मचारीले काम पाउँछन् । पोलिसी बिक्री भएपछि मात्रै कार्यालय भित्रका कर्मचारीको पनि काम बढ्छ ।

बीमा कम्पनीहरुले सबैभन्दा बढी जोड ग्राहकको फाइदाका लागि गर्नुपर्छ । ग्राहकलाई छिटो छरितो सेवा दिनुपर्छ । ग्राहकलाई कस्तो पोलिसी चाहिएको छ ? त्यसमा जोड दिन आवश्यक छ । साथै, डिजिटलबाटै दाबी भुक्तानीको व्यवस्था हुनुपर्छ । स्वास्थ बीमा, लघुबीमा लगायत नयाँ प्रडक्ट ल्याउन जरुरी छ । अहिले कम्पनीहरु परम्परागत पोलिसी बिक्री गरेर थेगिरहेका छन् । तर, बजारले नयाँ-नयाँ प्रडक्ट माग गरेको हुन्छ । अझै जीवन बीमा कम्पनीले दीर्घकालका पोलिसी ल्याउनुपर्छ ।

मर्जरमा जाँदा कर्मचारी कटौति, खाइपाइ आएको सेवा सुविधा घटाउन नपाइने भनेको छ । तर, व्यवस्थापन गर्दा कर्मचारी बढी भएर लागत बढेको देखिन्छ । यसले कसरी सिनर्जी हासिल गर्न सकिन्छ ?

सलिको इन्स्योरेन्समा कर्मचारी व्यवस्थापनमा कुनै समस्या छैन । कर्मचारी व्यवस्थापन चुस्तदूरुस्त छ । अब कर्मचारीलाई तालिम, मोटिभेसनल प्रोग्राममा जोड दिदैछौं । के गर्दा राम्रो सिनर्जी ल्याउन सकिन्छ भनेर कर्मचारीसँग पनि छलफल गरिरहेका छौं । एउटा विभागमा कार्यरत कर्मचारी लामो समयसम्म पनि सोही विभागमा काम गरिरहन्छ । बीमा कम्पनीमा कर्मचारीको विभाग परिवर्तन गर्ने परिपाटी छैन । कर्मचारीलाई बेलाबेला विभाग परिवर्तन गर्दा उनीहरुकै क्षमता विकास हुन्छ । तर यहाँ त कर्मचारीको विभाग परिवर्तन गरेपछि जागिरबाट निकाल्यो भनेर आरोप लाग्छ । सही मान्छे छनोट गरेर सही ठाउँमा नियुक्त हुनुपर्छ । कम्पनीको भिजन, मिसन पुरा गर्न तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीलाई सही ठाउँमा खटाउनुपर्छ । कम्पनीको उद्देश्य अनुसार काम गर्नुपर्छ भनेर बुझाउन सकियो भने सिनर्जी ल्याउन सकिन्छ । यो वातावरण सलिको इन्स्योरेन्समा राम्रो देखिएको छ ।

बैंकिङ्ग क्षेत्रमा मर्जरपछि स्वेच्छिक अवकार योजना (भीआरएस) दिएर कर्मचारी बिदा भएका छन् । बीमा क्षेत्रमा यो अभ्यास सम्भव छैन ?
जीवन बीमामा यो अभ्यास भएको छ तर निर्जीवन बीमामा भएको देखिँदैन । भीआरएसमा बिदा गर्न सकिने व्यवस्था निर्जीवन बीमामा पनि छ । तर मेरो विचारमा कम्पनीहरुले भीआरएस दिनुको सट्टा अवसर प्रदान दिनुपर्छ । सञ्चालकले व्यवस्थापन समूहलाई स्वतन्त्र भएर कम्पनी चलाउन दिनुपर्छ । दाबी भुक्तानीमा अनावश्यक तनाव दिनुहुँदैन । कम्पनीमा जसले राम्रो काम गर्छ, त्यसको प्रमोशन हुनुपर्छ । कसैको भनसुनका आधारमा कर्मचारी नियुक्त हुनु हुँदैन । त्यसैले बजारमा सलिको इन्स्योरेन्सक कर्मचारीका विषयमा नकारात्मक कुरा सुनिदैँन ।

मर्जरसँगै २० वटा निर्जीवन बीमा कम्पनी १४ वटामा झर्दैछन् । कम्पनीको संख्या घट्दा कम्पनीहरुबीचको प्रतिस्पर्धा स्वस्थ भएको छ ?

एकैचोटी त्यो हुँदैन । संख्या घट्दैमा व्यवसाय बढ्ने र अस्वस्थ प्रतिस्पर्धा घट्ने हुँदैन । परम्परागत सोचलाई परिवर्तन गर्नुपर्छ । अब व्यवसाय विस्तार गर्नका लागि नयाँ रणनीति तयार पार्नुपर्छ । मर्जर गरेका कम्पनीले मर्ज नभएका कम्पनी वा व्यवसायको आकार सानो भएको कम्पनीसँग प्रतिस्पर्धा गर्यो भने दुवै कम्पनी बिग्रीन्छन् । उनीहरुलाई मर्जर भएका कम्पनीले ट्र्याक देखाउनुपर्छ । प्राधिकरणसँग अस्वस्थ प्रतिस्पर्धा रोक्न पटक पटक छलफल गर्यौं । त्यसैले थर्ड पाटी इन्स्योरेन्सलाई पुलमा लगेका छौं । पुल मोडल पनि राम्रो नै भइरहेको छ । खुला अर्थतन्त्रमा बजारलाई छोड्दा अस्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर, यसले जोखिम बढायो । सबै पब्लिक कम्पनी भएको हुँदा सबैले दायित्व पुरा गर्नुपर्छ । विदेशमा जस्तो बीमा क्षेत्रमा प्राइभेट र लिमिटेड दुवै कम्पनी नेपालमा छैनन् । त्यसैले नेपालमा त्यति धेरै समस्या देखिँदैन ।

लघुबीमा कम्पनीहरुले ठूला कम्पनीको व्यवसाय खोस्छ कि सहयोग गर्छ ?

कुनै पनि कम्पनी आउँदा व्यवसाय खोस्छ भन्ने हुँदैन । यो नयाँ अध्याय सुरु भएको छ । सबैभन्दा पहिला त के उद्देश्यले लाइसेन्स दिएको हो भनेर हेर्नुपर्छ । नियामकले भनेपछि मान्नै पर्छ । अहिलेका जीवन बीमा र निर्जीवन बीमा कम्पनीले पहुँच पुर्याउन नसकेपछि लघुबीमा कम्पनीले गाउँगाउँमा गएर काम गर्नुपर्छ । लघुबीमा कम्पनी पनि शहरमुखी हुनु हुँदैन ।

जीडीपीमा निर्जीवन बीमाको योगदान करिव १ प्रतिशत मात्रै योगदान छ । एउटै ब्यक्तिको घर हुन्छ, गाडी हुन्छ, अन्य सम्पत्ति हुन्छ, स्वास्थ बीमा गरिएको हुन्छ । यति स्कोप हुँदा पनि बीमाको योगदान थोरै छ । अब जीडीपीमा बीमाको योगदान बढाउनुपर्छ । बैंकोन्स्योरेन्स लागू गर्दा एजेन्टहरुले चाँहिदैन, हाम्रो रोजगारी खोस्यो भनेका थिए । डिजिटलमा व्यवसया गर्दा पनि विरोध जनाए । यसरी परिवर्तन हुँदैन । नयाँ विधि र विकल्पमा काम गर्दा आफ्नै तरिका हुन्छन् । त्यसैले लघुबीमाले पनि आफ्नै सीमा भित्र रहेर काम गर्छन् । त्यस्तो तात्विक फरक पर्दैन ।

कम्पनी ठूलो भएपछि नयाँ इनोभेसन ल्याउन के अभ्यास भएको छ ?

अहिले बजारमा कायम पोलिसी नै नयाँ स्वरुपमा आउँछन् । अब एक/एक मान्छेसँग पुग्नेगरी पोलिसी ल्याउनु पर्छ । सलिको इन्स्योरेन्सले तीन/चार वटा प्रडक्ट स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ । एउटा जीवन बीमा कम्पनीसँग मिलेर राइडर पोलिसी ल्याउने तयारी छ । एशियन लाइफसँग सहकार्य गरेर काम अघि बढेको छ । कम्पनीले जारी गरेका पोलिसीमा मेडिकल सुविधा प्रदान गर्ने गरी सहमति भएको छ ।

यस्तै, इलेक्ट्रिक भेइकल (इभी) सवारीमा रहेको ब्याट्रिको पनि बीमा गर्ने योजना छ । पछिल्लो समय पर्यटन क्षेत्रमा डुंगाहरुको प्रयोग बढ्दै गएको छ । साना तथा मध्यम खालका डुंगाहरु सञ्चालन भइरहेका छन् । विभिन्न पर्यटकीय क्षेत्रमा डुंगा सञ्चालनमा भए पनि बीमा गरेको पाईंदैन । डुंगाहरुको बीमा गर्ने योजना छ । अब रेल पनि सञ्चालनमा आइसकेको भएकाले त्यसको पनि बीमा गर्ने योजनामा बनाएका छौं । साथै, चस्माको पनि बीमा गर्ने योजना छ । अहिले सबै कम्पनीमा युवा सीईओहरु हुनुहुन्छ । उहाँहरुले पनि आ-आफ्नो रणनीति बनाएर काम गरिरहुन भएको छ ।

प्रस्तुती : सीआर भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.