काठमाडौं । काठमाडौंमा नाइफ उद्यमशीलता सम्मेलन २०२३ सम्पन्न भएको छ । नाइफ काठमाडौंले २३ वैशाखमा मल्ल होटलमा आयोजना गरेको सम्मेलनको उद्देश्य युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने रहेको थियो ।
सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सांसद सोविता गौतम, नाइफ एनजीसीका अध्यक्ष रितेश लामिछाने र नाइफ काठमाडौंका अध्यक्ष चिराग गोयलले संयुक्त रुपमा गरेका थिए।
कार्यक्रममा नाइफ काठमाडौंका अध्यक्ष गोयलले देशको आर्थिक विकासका लागि युवाहरूमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उद्यमशीलतामा महिलालाई प्रोत्साहन गर्न सरकारले दर्ता, कानुनी मामिला आदिमा नियम र कानुन बनाएर सहयोग गर्न सक्नेमा उनको जोड थियो ।
नाइफ उद्यमशीलता सम्मेलनमा प्यानलगत छलफलका साथै उद्यमशील यात्रा, उत्पादन र सेवाबारे प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । नेपालको उद्यमशील इकोसिस्टममा रहेका नयाँ प्रवृत्ति र अवसरहरूबारे जान्नका लागि उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५०० भन्दा बढीले कार्यक्रममा भाग लिएका थिए।