मन्त्री रिजाल र बेलायती राजदूतबीच शिष्टाचार भेट, लगानीका बारेमा छलफल

  २०८० वैशाख २६ गते १७:३५     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत बिषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको स्पष्ट पारेका छन् । नेपाल र संयुक्त अधिराज्यबीच वर्षदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले बेलायती राजदूत निकोलाको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गरे । साथै महामहिम राजदुतको कार्यकाल तथा नेपालको बसाइँ उपलब्धिमुलक र सुखद रहोस् भन्ने कामना व्यक्त गरे ।

मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन अपेक्षा ब्यक्त गरे । बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको स्मरण गराउदै मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन र विविधीकरण गर्नको लागि बेलायती राजदूत निकोलाको महत्तम प्रयास रहने अपेक्षा रहेको स्पष्ट पारे ।

भेटका क्रममा मन्त्री रिजालले नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको समेत स्मरण गराएका छन् । तसर्थ उक्त प्रक्रियालाई दिगो र सहज बनाउन कम्तीमा केही वर्षसम्म जियसपि, उत्पत्तिका नियमहरूको मापदण्ड जस्ता यलडिसि सम्बन्धित सहुलियतपूर्ण व्यापारिक सुविधाको निरन्तरता महत्वपूर्ण रहने भन्दै मन्त्री रिजालले यस सम्बन्धमा नेपालले बेलायतको सहयोगको अपेक्षा गरेको समेत बताए ।

गत वर्ष कोप–२६ सम्मेलन सफलतापूर्वक आयोजना भएको सन्दर्भमा साझा विश्वव्यापी चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनको एजेण्डामा नेपाल बेलायतसँग मिलेर काम गर्न तत्पर रहेको मन्त्री रिजालले अवगत गराए । भेटका क्रममा मन्त्री रिजालले नेपालको हरित, उत्थानशील र समावेशी विकास रणनीतिलाई समर्थन गर्ने बेलायतको तत्परताको कदर समेत गरेका छन् ।

त्यसैगरी नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, विद्युतीय यातायात, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको बताए । नेपालको नवीकरणीय ऊर्जा विकास, जलवायु परिवर्तन सम्बन्धी अनुकूलन र न्यूनीकरण प्रयासहरूमा बेलायत सरकारको सहयोग प्रति मन्त्री रिजालले कृतज्ञता समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.