उद्देश्य विपरित ऋणपत्रमा एचआइडीसीएलको ८ करोड लगानी, ११ अर्ब रुपैयाँ मुद्दतीमा राखेर व्याज खाँदै

  २०८० वैशाख २६ गते १५:१८     विकासन्युज

काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले उद्देश्य विपरित वाणिज्य बैंकको ऋणपत्र (बण्ड)मा लगानी गरेको पाइएको छ । तर यस्तो लगानी अन्जानमा भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रबन्धपत्रको बुँदा नम्बर ४ (ङ) बमोजिम कम्पनीले जलविद्युत तथा नवीकरणीय उर्जासँग सम्बन्धित परियोजनाका लागि जारी हुने बण्ड, डिबेञ्चर जस्ता ऋणपत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था रहेको छ । तर, कम्पनीले सो उद्देश्य विपरित एक वाणिज्य बैंकको कर्पोरेट बण्डमा ८ करोड रुपैयाँ लगानी गरेको हो । कम्पनीले सो रकम एनआईसी एशिया बैंकको ऋणपत्रमा लगानी गरेको पाइएको हो ।

कम्पनीका नायव महाप्रबन्धक (डीसीईओ) जीवन कुमार बस्नेतले उद्देश्व विपरित बैंकको ऋणपत्रमा लगानी गरेको स्वीकार गरे । हाइड्रोपावरले जारी गरेको ऋणपत्रमा लगानी गर्न पाइने भएपनि तत्कालिन समयमा जानकारी नभएकाले बैंकको ऋणपत्रमा लगानी गरिएको उनले बताए ।

‘एनआईसी एशिया बैंकको ऋणपत्रमा ८ करोड रुपैयाँ लगानी गरेको हो, त्यसको ब्याज पनि आउन थालेको छ, जानकारी नहुँदा सो ऋणपत्रमा लगानी गरिएको हो तर पछि जानकारी पाएपछि कुनै पनि ऋणपत्र वा बण्डमा लगानी गरिएको छैन,’ उनले भने ‘सो ऋणपत्र एक डेढ वर्षपछि परिपक्व हुँदैछ, कम्पनीको फाइदाको लागि लगानी गरिएको हो, ब्यक्तिगत फाइदाको लागि होइन ।’ सो ऋणपत्रको ब्याजसहित गत असार मसान्तसम्म ८ करोड ७२ लाख २० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

साथै, एचआइडीसीएलले सहायक कम्पनीको रूपमा रेमिट हाइड्रो र सिम्बुवा खोला जलविद्युत कम्पनी खडा गरेको छ । सो आयोजना एचआइडीसीएलले आफैं निर्माण गर्नेछ । दुवै हाइड्रो कम्पनीमा ८८ करोड ६२ लाख रुपैयाँ लगानी गरेको कम्पनीले जनाएको छ । तर, दुवै परियोजनाहरूको विद्युत खरिद सम्झौता हालसम्म भएको छैन । अध्ययन सम्पन्न भएपछि मात्रै खरिद सम्झौता गरिने डीसीईओ बस्नेतले बताए ।

‘हामीले पीपीए भएका र नभएका अन्य आयोजनामा पनि लगानी गर्छौं, यो दुई वटा प्रोजेक्ट कम्पनी आफैले बनाउने भनेर लगानी गरेको हो, आयोजना निर्माण गर्ने तयारी गरेको हुँदा पीपीए गर्न बाँकी छ, यी दुई आयोजनाको अध्ययन सम्पन्न भएको हुँदा वित्तीय सम्झौता गरेर अघि बढ्छौं,’ उनले भने ।

सहायक कम्पनी बाहेक अन्य २ स्वतन्त्र कम्पनीमा यो वर्ष ४ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । आयोजना सञ्चालनको सुनिश्चितता गरेर मात्र लगानी गर्ने उनको भनाइ छ । कम्पनीले गत वर्ष विभिन्न ९ अन्य कम्पनीमा १ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ सेयर लगानी गरेको छ । तर हालसम्म सो लगानीबाट प्रतिफल शुन्य रहेको छ । सो लगानी बन्दै गरेको आयोजनामा रहेको डीसीईओ बस्नेतले बताए । सो आयोजनाहरु निर्माण सम्पन्न भएर उत्पादन गर्न थालेपछि मात्रै प्रतिफल प्राप्त हुने उनको भनाइ छ ।

‘आयोजनामा लगानी गर्न थालेको २ वर्ष मात्रै भयो, पहिलो प्रोजेक्ट नै निर्माण सम्पन्न हुन अझै एक/डेढ वर्ष लाग्छ, ती आयोजना निर्माण सम्पन्न भएपछि मात्रै प्रतिफल प्राप्त हुन्छ,’ उनले भने ।

त्यस्तै विभिन्न १० संस्थामा अघिल्लो वर्ष ४ अर्ब १० करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो । गत वर्ष ११ संस्थामा ६ अर्ब ४५ करोड २७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सो लगानी गर्दा १ प्रतिशतले हुन आउने ६ करोड ४५ लाख २७ हजार रुपैयाँ क्षयह्रास राखिएको छ । सो रकम सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याइएको उनले बताए । यदि सो रकम सम्भावित जोखिम व्यवस्थापनका नछुट्याए कम्पनीलाई कारवाही हुने उनको भनाइ छ ।

यसैगरी कम्पनीले तोकिएका उद्देश्यहरू हासिल गर्न पर्याप्त परियोजना पहिचान गरी लगानी बढाउन नसक्दा सङ्कलन गरेको स्वपुँजीको अधिकतम रकम समेत मुद्दती निक्षेप खातामा राखेको छ । कम्पनीले बैंकको मुद्दती निक्षेपमा ११ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ । हाल कम्पनीको कूल पूँजी २४ अर्ब रुपैयाँ छ । हालसम्म १३ अर्ब रुपैयाँ बराबर आयोजनामा लगानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.