लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने

  २०८० वैशाख २४ गते २२:५७     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष मिन बहादुर बोहराले गर्ने भएका छन् । यसअघि संघको अध्यक्ष रहेका प्रकाशराज शर्माले लक्ष्मी लघुवित्तको सीईओबाट अवकाश पाएपछि उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने भएका हुन् ।

संघको विधान अनुसार अध्यक्ष पद रिक्त रहेको अवस्थामा उपाध्यक्षले निजको कार्य गर्ने व्यवस्था छ । सोही बमोजिम लघुवित्त बैंकर्स संघको अबको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने छन् ।

सीईओको कार्यकाल सकिएपछि शर्माको अध्यक्ष पद पनि स्वतः समाप्त भएको थियो । संघको विधान अनुसार अध्यक्षको अनुपस्थितमा उपाध्यक्षले स्वतः नेतृत्व गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने छन् ।

सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सहायक स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका बोहरासँग विभिन्न लघुवित्त तथा विकास बैंकको सीईओ बनेर भूमिका निर्वाह गरेको अनुभव छ । साविकको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रमुख पदमा रहेर उनले काम गरेका थिए ।

बोहराले साविक नेपाल एग्रो लघुवित्त, कालिका लघुवित्त र धौलागिरी लघुवित्तको सीईओको भूमिका निर्वाह गरिसकेका छन् । एक वर्षमा तीन वटा लघुवित्तको सीईओ बन्ने अवसर बोहराले प्राप्त गरेका थिए । एक दर्जन संस्थाको मर्जरमा उनले भूमिका समेत निर्वाह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.