सङ्कटग्रस्त अर्थतन्त्रमा आशाको किरण देखिएका छन् : अध्यक्ष ढकाल

  २०८० वैशाख २४ गते ८:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रमा विस्तारै आशाको किरण देखिन थालेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि आएको बताए ।

‘विप्रेषण २५ प्रतिशतले बढेको छ, बैंकको सिडी रेसियो पनि ८५/८६ प्रतिशत छ, ब्याजदर घट्दो क्रममा छ, अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि केही सुधारका सङ्केत देखिँदैछन्,’ उनले भने ।

अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको उल्लेख गरे ।

‘अर्थतन्त्र सङ्कटमा पर्नुमा कुनै एउटा पक्ष मात्र दोषी छैन, यसका बहुआयामिक कारण छन्, यो अवस्थाबाट बाहिर निस्कन निजी क्षेत्र र सरकारले बलियो सहकार्य गर्नुपर्छ,’ उनले भने ।

अध्यक्ष ढकालले कोभिड-१९, रुस र युक्रेन युद्ध, नीति निर्माणमा भएका त्रुटिलगायतका कारणले आर्थिक क्षेत्रमा सङ्कट देखा परेको बताए । आफू महासङ्घको नेतृत्वमा आएको पहिलो दिनदेखि नै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि पहल थालेको उनको भनाइ छ ।

‘सरकारसँग लगातार संवाद भइरहेको छ, कसरी अर्थतन्त्रलाई गति दिन सकिन्छ भनेर हामी लागिपरेका छौँ, सरकार, नियमनकारी या कुनै संस्थालाई मात्र दोष दिएर पनि हुँदैन, सबै मिलेर सङ्कटको समाधानतिर लाग्नुपर्छ,’ उनले भने ।

निराशा मात्र बाँडेर नहुने भन्दै सकारात्मक कुराको प्रसार गर्नुपर्ने उनले बताए । निजी क्षेत्र र सरकारले एक अर्कालाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्ने उनको धारणा छ ।

अध्यक्ष ढकालले राज्य सञ्चालनको ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई गृहमन्त्रालयको मयार्दाक्रमसमेत उपेक्षा गरिएको बताए । अर्थतन्त्रको सुधार, लगानी वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महासङ्घले अगुवाइ गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.