उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

  २०८० वैशाख २० गते १२:३२     विकासन्युज

काठमाडौं । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आजबाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो ।

लोकसेवा आयोगले २०७९ मङ्सिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए । उनले २०७९ मङ्सिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेकाहरूले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने बताए । उनले यस पटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताए ।

पहिला दरखास्त भरिसकेकाहरूको डाटा सङ्कलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गरे । प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मङ्सिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि उनले बताए ।

प्रवक्ता सुवेदीले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताए । उनका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साबिकमा स्वीकृत भइसकेका दरखास्तहरू अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ ।

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरू रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.