२०८० वैशाख २० गते ९:३० विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी भर्ना गर्दा नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकालाई प्राथमकिता दिने भएको छ । महानगरपालिकाले नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकाले आवेदन दिएमा नगर प्रहरीमा भर्ना गर्ने बताएको हो ।
महानगरपालिकाले १ सय जना नगर प्रहरी जवान भर्ना गर्न गत बैशाख १० गते सूचना प्रकाशन गरेकोमा ३० जना उम्मेदवारलाई करार सम्झौता गरी काममा लगाइने र बाँकी रहेकोमा ७० जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैकल्पिक सूचीमा रहेकालाई भर्ना गर्ने भएको हो ।
महानगरले नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेका खुलातर्फ २४ जना, महिलातर्फ १५ जना, आदिवासी तथा जनजातितर्फ १२ जना, मधेशीतर्फ १ जना, दलिततर्फ ३ जना र अल्पसङ्ख्यकतर्फ १ जनालाई नगर प्रहरीमा नियुक्त गर्ने भएको हो । यस्तै, सशस्त्र प्रहरी तर्फको खुलातर्फको बैकल्पिक सूचीमा परेका १४ जनालाई पनि नगर प्रहरीमा भर्ना गर्ने भएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान भर्नामा वैकल्पिक सूचीमा परेकाले १५ दिनभित्र निवेदन दिएमा यसअघि नियुक्ति दिई सकेकालाई कटाई करारमा नियुक्ति गरिने बताएको छ । इच्छुकले सूचीमा उल्लेखित दर्ता नम्बर खुलेको निवेदन र नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.