अर्थतन्त्रमा कृषिको योगदान घट्दा वित्तीय क्षेत्र र घर जग्गाको बढ्यो

  २०८० वैशाख १९ गते १४:३२     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा विगत वर्षहरू जस्तै कृषि क्षेत्रको रहेको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानका अनुसार अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ । तर, गत आर्थिक वर्षको तुलनामा केही घट्ने देखिएको छ ।

गत आर्थिक वर्षमा कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २४.६७ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा घटेर २४.१२ प्रतिशत हुन पुगेको अनुमान गरिएको छ ।

१८ वटा औद्योगिक क्रियाकलापमध्ये ९ वटाको घट्ने र ९ वटाको बढ्ने कार्यालयको अनुमान छ । गत आर्थिक वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनको अंश सामान्य बढ्नेमा यातायात तथा भण्डारण, विद्युत ग्याँस वाष्प तथा वातानुकिलत आपूर्ति सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, वित्तीय तथा बीमा क्षेत्र, आवास तथा भोजन सेवा, शिक्षा र स्वास्थ्य तथा सामाजिक सेवाका क्रियाकलापहरू रहेका छन् ।

सामान्य रुपमा घट्नेमा कृषि वन तथा मत्स्य, खानी तथा उत्खनन, निर्माण, उद्योग, थोक तथा खुद्रपार, घरजग्गा कारोवारको सेवा, सूचना तथा सन्चार, पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू र अन्य सेवाहरू गरी ९ क्रियाकलापहरू छन् । पेशागत, बैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू र प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरूको हिस्सा यथावत नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा बैंक तथा बीमा क्षेत्रले ७.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । समग्र रूपमा यी क्षेत्रका क्रियाकलापमा भएको बढोत्तरीको कारणले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ७.२९ प्रतिशतले कुल मूल्य अभिवृद्धि मा वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

यस्तै, चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा क्षेत्रले ८.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । घर जग्गाको कारोवारमा मन्दी आएको भएतापनी निजी आवास तथा भाडाका क्रियाकलापहरुमा भएको बढ़ोतरीले यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मा २.१७ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ ।

कुन क्षेत्रको योगदान कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.