‘अब जहाँ फोहोर त्यहाँ साखः ग्रुपले उत्पादन गर्छ कम्पोस्ट मल’

  २०७९ चैत २८ गते १२:०६     विकासन्युज

काठमाडौं । नेपालका सबै राजनीतिक दलहरुको साझा मुद्धा छ, किसानलाई रासायनिक मल सहज रुपमा उपलब्ध गराउने । निर्वाचनको बेला सबै राजनीतिक दलहरुले चनुावी घोषणा पत्रमै किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने लेखेका छन् । तर, किसानहरुले अहिलेसम्म प्रयाप्त मात्रामा रासायनि मल पाएका छैनन् । अब राजनीतिक दलहरुले रासायनिक मलको एजेण्डा नबन्ने गरी साखः ग्रुपले स्वदेशमै मल उत्पादन सुरु गरेको छ ।

लामो समयदेखि स्टिल, हाउजिङ तथा पेन्टिङ व्यवसाय गर्दै आएको साख:; ग्रुपले फोहोरबाट मल उत्पादन उद्योग सुरु गरेको छ । साखः ग्रुपले रिकिसी कम्पोस्ट कम्पनीमार्फत् जापनीज प्रविधि प्रयोग गरेर स्वदेशमै मल उत्पादन गरी बिक्री वितरणको तयारी गरेको हो । विभिन्न स्थानिय तहसँग सहकार्य गरेर मल उत्पादनमा टेवा पुयाइरहेको साखः ग्रुपले सिन्धुलीको दूधौली नगरपालिकामा व्यवसायीक रुपमा मल उत्पादन गरिरहेको छ । साखः ग्रुपका अध्यक्ष तथा निर्देशक हुन् किरण प्रकाश साखः। ५ वर्षको अध्ययन अनुसन्धान पश्चात् स्वदेशमै फोहोरबाट मल उत्पादनमा लागेको साखः ग्रुपले विदेशबाट आयात गरिने मलको परनिर्भरतालाई अन्त्य गर्ने लक्ष्य राखेका छन् । स्वदेशमै मल उत्पादन हुन थालेपछि विदेशी मुद्राको सञ्चितीमा समेत ठूलो टेवा पुग्ने देखिन्छ ।

साखः ग्रुपले उत्पादन गरेको मल प्रयोग गर्दा माटोको उर्बरा शक्ति समेत प्रत्येक वर्ष बढ्दै जाने दाबी गरिएको छ । अर्गानिक भनिएको स्वदेशमै उत्पादित मलका विषयमा केन्द्रित भएर साखः ग्रुपका निर्देशक किरण प्रकाश साखःसँग विकासन्युजका लागि सीआर भण्डारी र राजिव न्यौपानेले गरेको कुराकानी गरेका छन् ।

रासायानिक मललाई राजनैतिक एजेण्डा बनाएका छन् । सरकारले अहिलेसम्म प्रयाप्त मात्रामा मल भित्र्याउन सकेको छैन । तर, साखः ग्रुपले उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ । स्वदेशमै कम्पोस्ट मल उत्पादन गरी कृषकलाई वितरण गर्ने योजना कसरी बनाउनु भयो ?

बजारमा मलको अभाव छ । भएको मल पनि कृषकले सहज रुपमा पाउन सक्दैनन् । रासायनिक मल देश र जनता दुवैका लागि ठिक छैन । रासायनिक मल हानिकारक पनि छ । साथै, रासायनिक मलमा ठूलो रकम बाहिरीने गरेको छ । सरकारले मल ल्याएपनि ६०/७० प्रतिशत अनुदानमा उपलब्ध गराउँछ । सरकारले एक रुपैयाँमा मल किन्दा २५ पैसामा किसानलाई वितरण गर्दै आएको छ । जसले गर्दा देशको अर्थतन्त्रको लागि रासायनिक मल प्रतिस्थापन गर्न जरुरी छ ।

रासायनिक मलको प्रयोग गर्दै जाने हो भने ६० वर्षपछि जमिनबाट उब्जनी नै हुँदैन । रासायनिक मलको प्रयोगले जमिनको उत्पादकत्व शक्तिमा प्रत्येक वर्ष ह्रास ल्याउँछ । जसले माटो बिग्रन्छ । रासायनिक मलको वैकल्पिक उपाय प्राङ्गारिक मल नै हो । हामीले अध्ययन गर्याैं, प्राकृतिक होस् जसले रासायनिक मलको पनि काम गरोस् । जापानिज विधि भित्र्याएर फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न सुरु गर्याैं । अध्ययन, अभ्यास र कार्यान्वयनमा ल्याउन ५ वर्ष लाग्यो । सुरुमा भक्तपुर र ठिमी नगरपालिकासँग सहकार्य गरेर फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्यौं । त्यहाँ उत्पादन गरिएको मल प्रयोग गरेपछि कृषिजन्य वस्तुको उत्पादनमा समेत वृद्धि भयो । र, सबैको चासो बढ्यो । त्यसपछि साखः ग्रुपले व्यवसायीक उत्पादन गरेर बजारमा बिक्री वितरणका लागि खुला गरेको छ ।

हामीले उत्पादन गरेको मल कृषकले प्रयोग गर्दा कृषिजन्य वस्तुहरु पनि प्राकृतिक हुन्छन् । यो मलले जमिनको उत्पादकत्व वृद्धिदर बढाउनुका साथै उत्पादित वस्तुहरु पनि स्वास्थ्यकर छन् । भक्तपुर र ठिमी नगरपालिकाले अहिले पनि फोहोरको प्रयोग गरी मल बनाउने कामलाई निरन्तरता दिइरहेका छन् । रासायनिक मलको प्रयोग भएर उब्जनी भएका खाद्य वस्तुहरु स्वास्थ्यका लागि हानिकारक छन् । त्यसैको विकल्पमा हामीले कम्पोस्ट मल उत्पादनमा जोड दिएका हौं । हामीले उत्पादन गरेको मल स्वास्थ्य, प्राकृतिक र अर्थतन्त्रका लागि लाभदायी छ ।

तपाईंहरुले अहिले कुन-कुन ठाउँबाट कम्पोस्ट मलको उत्पादन गरिरहनु भएको छ ?

अहिले विभिन्न स्थानीय तहसँग सहकार्य गरी अगाडी बढीरहेका छौं । अन्य पालिकासँग सहकार्य भइरहेको छ । ठिमी र भक्तपुर नगरपालिकाले मलको उत्पादन गरिरहेको छ । साखः ग्रुपले सिन्धुलीको दूधौली नगरपालिका ७ मा उद्योग स्थापना गरी मल उत्पादन गरिरहेको छ । सोही ठाउँबाट मल बनाउन आवश्यक कच्चा पदार्थ पनि उत्पादन गरिरहेका छौं । अन्य पालिकासँग सहकार्य गरेर फोहोरबाट मल उत्पानमा जोड दिँदैछौं । किनभने हामीले मात्रै उत्पादन गरेर मलको मागलाई धान्न सक्ने अवस्था छैन ।

कम्पोस्ट मल जुनसुकै ठाउँमा पनि उत्पादन गर्न सकिन्छ । त्यसैले निजी क्षेत्र र पालिका मिलेर फोहोरबाट मल उत्पादन गर्न सक्छन् । कुनै पालिकाले मल बनाउन चाहन्छ भने हामी सहकार्य गर्न तयार छौं । आवश्यक पर्ने जनशक्ति हामीले उपलब्ध गराउँछौं । मल उत्पादन गर्ने विधि पनि सिकाउन हामी तयार छौं ।

तपाईंले प्रयोग गरिरहनु भएको जापनिज प्रविधिले उत्पादनको गरेको मललाई जनताले कसरी विश्वास गर्ने ?

यो विधि जापानमा प्रमाणित भइसकेको छ । जापानले फोहोरबाट मल उत्पादन गरेको धेरै समय भइसक्यो । प्रमाणित भएर नै हामीले नेपालमा भित्र्याएका हौं । सरकारको मलमा तोकेको मापदण्ड अनुसार नै हामीले मल उत्पादन गर्छौं ।

मल बनाउने प्रक्रिया कस्तो हुन्छ ? कति समय लाग्छ ?

यो मलको सबल पक्ष भनेको देशको माटो सुहाउँदो छ । हामीले जापानी विधिबाट ‘तोकोजाइ’ बनाउँछौं । तोकोजाइलाई अन्य चिजमा मिसाएर कम्पोस्ट मल बनाइने हो । तोकोजाइ खरानीजस्तो धूलो हुन्छ । यसलाई सहज तरिकाले उत्पादन गर्न सकिन्छ । कम्पोस्ट मल उत्पादन गर्दा मेसिन (प्रविधि)को आवश्यकता पर्दैन । यसको लागि ठूला कोठा र जनशक्तिको आवश्यकता पर्छ । र, स्वदेशकै प्रविधि प्रयोग गरेर मल उत्पादन गर्न सकिन्छ ।

फोहोर, गोबर, सुली र माटोसँगको मिश्रण गर्नुपर्छ । मिश्रण गरेपछि कोठा-कोठामा राख्नुपर्छ । एक कोठाबाट १० टन मल उत्पादन गर्न सकिन्छ । यो मल उत्पादनका लागि आवश्यक प्रविधि भनेको कोठा हुन् । एक लट कम्पोस्ट मल तयार हुन एक डेढ महिना लाग्छ । यसलाई बेलाबेला चलाई राख्नु पर्छ । १२ टन कुहिने फोहोरबाट १० टन मल उत्पादन गर्न सकिन्छ । गाउँघरको कम्पोस्ट मल गन्हाउँछ । तर, यो विधि प्रयोग गरेर उत्पादित मल गन्हाउँदैन । यो गन्धरहित हुन्छ । रासायनिक मलमा धेरै केमिकलको प्रयोग गरिएको हुन्छ । तर, यो विधि प्रयोग गर्दा केमिकलको प्रयोग शुन्य हुन्छ । त्यसैले यो मल विशुद्ध अर्गानिक हुन्छ ।

तपाईले उत्पादन गरिरहेको मलको मूल्य कति तोकिएको छ ? किसानले कतिमा खरिद गर्न पाउनुहुन्छ ?

हामीले उत्पादन गरेको मलको मूल्य थोरै छ । प्रतिकेजी ३५ रुपैयाँका दरमा बजारमा उपलब्ध हुन्छ । हामीले कृषि ज्ञान केन्द्रलाई ३५ रुपैयाँ केजीमा बिक्री गर्छाै । कृषि ज्ञान केन्द्रले अनुदानमा बिक्री गर्न पनि सक्छ । कृषि ज्ञान केन्द्रलाई मल खरिद गर्न करोडौं रकम बजेट छुट्याएको हुन्छ । ज्ञान केन्द्रले आफ्नो बजेट अनुसार अनुदान मार्फत कृषकलाई उपलब्ध गराउन सक्छ । ज्ञान केन्द्रले अनुदानमा बिक्री गर्याे भने प्रतिकेजी १५/२० रुपैयाँ पर्न सक्छ ।

उपत्यकामा हजारौं टन मल उत्पादन हुन्छ । काठमाडौको फोहोरबाट मल उत्पादन गर्ने केही योजना बनाउनु भएको छ ?

उपत्यकाको कुहिने फोहोरलाई व्यवस्थापन गर्न हामी तयार छौं । काठमाडौं महानगरपालिका लगायत अन्य पालिकासँग पटक-पटक छलफल गरेका छौं । महानगरपालिकाले टेकुमा अहिले ‘ट्रायल’को रूपमा परीक्षण गरिरहेको छ । ट्रायल पुरा भइसकेपछि महागरले व्यवसायीक उत्पादन गर्ने तयारी गरेको छ । महानगरपालिकाले फोहोरबाट मल बनाउन प्रस्ताव गरेको थियो । अहिले हामी देशभरी नै फोहोरबाट मल उत्पादन गर्ने तरिका विस्तार गर्ने योजनामा छौं । काठमाडौंमा दैनिक सयौं टन फोहोर संकलन हुने भएकाले मलको उत्पादन पनि धेरै हुन्छ । सम्बन्धित पालिकाले आफै पहल गरेर उत्पादन गर्दा फाइदा हुन्छ । बरु मल उत्पादन गर्दा चाहिने आवश्यक संरचना र जनशक्ति हामी उपलब्ध गराउन तयार छौं ।

फोहोरलाई तीन किसिमले छुट्याइएको हुन्छ । रिसाइकल गर्ने, अर्को रिसाइकल गर्न नहुने र घरायसी फोहोर । काठमाडौंमा ५० प्रतिशत गल्ने फोहोर छ । बञ्चरे डाँडा र सिसडोलमा फोहोरको विषयमा चर्चामा आइरहन्छ । अब जापनिज प्रविधि प्रयोग गरेर मल उत्पादन भएपछि समस्या समाधान हुन्छ । अब जहाँ फोहोर त्यहाँ मल उत्पादन गर्न सकिन्छ ।

फोहोर नभएको ठाउँमा कसरी मल उत्पादन गर्न सकिन्छ ?

प्रायः शहरी क्षेत्रमा कुहीने फोहोर बढी हुन्छ । तर, फोहोर नभएको ठाउँबाट पनि मल बनाउन सकिन्छ । गाउँघरतिर गोबर, सुली, रातोमाटो, भूस लगायत कच्चा पदार्थ उपलब्ध हुन्छ । ती सबैलाई मिश्रण गरेर पनि उत्पादन गर्न सकिन्छ । गाउँघरमा पाइने प्राङ्गारिक मलमा बिरुवालाई चाहिने ‘प्रोटिन’ कम हुन्छ । प्राय किसानले युरिया तथा डिएपी मल प्रयोग गरेका उदाहरण छन् । गाउँघरका उपलब्ध गोबर, सुली, रातो माटो, भूस मिश्रण गरी जापनिज विधिमा बनाएको ब्याक्टेरिया मिसाएपछि युरिया र डिएपी बराबरको प्रोटिन बिरुवाले पाउँछ । जसले बिरुवामा उत्पादन शक्ति बढ्नुका साथै जमिनको उत्पादकत्व बढ्दै जान्छ । ‘तोकोजाइ’ बनाउन एनबिएम (कार्बन, नाइट्रोजन, ब्याक्टेरिया र मिनरल) प्रविधि प्रयोग गरिन्छ । यो मलको प्रयोग गरेपछि सन्तुलित भोजन खान पाउँछौं ।

दूधौलीमा मल उद्योग सञ्चालनका लागि कति लागत लाग्यो ? अहिले त्यहाँबाट कति उत्पादन गरिरहनु भएको छ ?

लागत धेरै छैन । किनभने मेसिन प्रयोग हुँदैन । बिजुली आवश्यक छैन । धेरै जनशक्ति अवश्यक पनि छैन । तर, जग्गा आवश्यक पर्छ । दूधौलीमा पहिलो चरणमा १० करोड रुपैयाँ लगानी गरेका छौं । यो लगानी बढ्दै जान्छ । किनभने माग बढ्यो भने उत्पादन पनि बढाउँदै जानु पर्नेछ । पहिलो चरणमा ५८ वटा कोठाबाट मलको उत्पादन भइरहेको छ । कोठामा ७०/८० डिग्री तापक्रम आवश्यक पर्छ । त्यो तापक्रमले ब्याक्टेरिया मर्छन् । साथै, मिश्रण गरिएको वस्तु गल्न मद्दत पुर्याउँछ ।

पहिलो चरणमा उत्पादन गरेको मल बजारमा आउँदैछ । सुरुमा ५ सय मेट्रिक टन मल बजारमा पठाउँछौं । उत्पादन गरेको मललाई ‘प्याकेजिङ्क’को काम भइरहेको छ । अहिले १५/२० केजीको एउटा बोरा बनाएका छौं । निकट भविष्यमा बोराको क्षमता बढाउने योजना छ ।

सरकारले मल आपूर्तिको जिम्मा दियो भने तपाईंको क्षमता छ ?

जापनिज विधि प्रयोग गरेर देशभर उत्पादन गर्न सकिन्छ । सबै ठाउँमा फोहोर छ । हामी आफैं मात्रै मल उत्पादनको काम गर्दैनौं । सबै स्थानिय तहले आफै मल उत्पादन गर्नुपर्छ । त्यसपछि मात्रै नाफाको ग्यारेन्टी हुन्छ । पैसा लगाउनु होस् । काम गर्नु होस् । हामी प्रविधि र दक्ष जनशक्ति उपलब्ध गराउँछौं । हामी एक्लैले मात्रै मल उत्पादन गर्नुपर्छ भन्ने मनस्थितिमा छैनौं । सबैलाई अवसर दिनुपर्छ भन्ने मेरो मान्यता हो । सुरुवातमा पूर्ति गर्न नसकेपनि विस्तारै क्षमता बढाउँछौं ।

यो मल किन प्रयोग गर्ने ?

हरेक वर्ष युरिया तथा रासायनिक मलको प्रयोग बढेको छ । रासायनिक मल प्रयोग गरेपछि मात्रै उत्पादन बढ्छ । जसले माटोको उत्पादन शक्ति घटाउँदै लैजान्छ । माटोको अम्लीय पन बढ्दै जान्छ । रासायनिक मलबाट उत्पादन तरकारी, फलफूल खाएपछि शरीरलाई अप्रत्यक्ष असर गरिरहेको हुन्छ । यो मलको प्रयोग गरेपछि उत्पादन भएका वस्तुहरु सन्तुलित हुन्छन् । सबै भोजन स्वस्थकर हुन्छन् ।

मल अभावका कारण ठूलो जमिन जग्गा बाँझो छ । अब मल अभावका कारण जमिन बाँझो राख्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । साथै, यो मल प्रयोग गरेपछि माटोलाई खुकुलो बनाउँछ । माटोको ढिस्का (डल्ला) बन्दैन । अर्बौं रुपैयाँ बाहिरिनबाट रोकिन्छ । स्वदेशमै मल उत्पादन गर्यौं र स्वदेशी मल प्रयोग बढायौं भने केही वर्षमै मलमा आत्मनिर्भर हुन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.