पाँचतारे होटलमा मारवाडी समुदायका व्यापारीसँग संघईको २ घण्टा : के भयो कुराकानी ?

  २०७९ चैत २५ गते २०:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी रौनक उत्कर्षमा पुगेको छ । महासंघको नेतृत्वका लागि उम्मेदवार बनेकाहरु अहिले भेटघाट तथा छलफलमा व्यस्त हुन थालेका छन् । भेटघाटकै शिलशिलामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले मारवाडी समुदायसँग छलफल गरेका छन् ।

शनिबार बिहान काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यति होटलमा उनले एक दर्जन मारवाडी समुदायका व्यवसायीहरुसँग छलफल गरेका हुन् । उनी बिहान ७ बजे होटलमा पुगेर ९ बजेसम्म मारवाडी समुदायका उद्योगी व्यवसायीहरुसँग छलफल गरेको बताइएको छ ।

स्रोतका अनुसार उनले आफुलाई मारवाडी समूहबाट एकलौटी रुपमा मत आउनु पर्ने बताएका छन् । आफुलाई मतदान गर्न र महासंघमा मारवाडी समूहको प्रतिनिधित्व बलियो पार्नु पर्ने प्रतिवद्धता उनीहरुबाट लिएका छन् ।

‘महासंघको चुनावकै विषयलाई लिएर भेटघाट भएको हो, उहाँले मारवाडी समुदायका उद्योगी व्यवसायीको एकलौटी भोट आफुलाई आउने अपेक्षा रहेको धारणा राख्नु भएको थियो, हामीसँग पनि प्रतिवद्धता लिनु भएको थियो, स्रोतले भन्यो, ‘उहाँले मारवाडी समुदायबाट महासंघको नेतृत्व गर्ने र समग्र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिवद्धता गर्नु भएको छ ।’

महासंघको निर्वाचन चैत २८ र २९ गते हुँदैछ । चुनावका लागि तीन वटा प्यानल प्रतिस्पर्धा गर्ने करिब निश्चित भएको छ । वरिष्ठ उपाध्यक्षका लागि संघईसँगै उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहमतिको प्रयास गर्न खोजे पनि उनको प्रस्तावलाई तिन वटै उम्मेदवारले अस्वीकार गरेर आ-आफ्नो किसिमले चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

अहिलेको चुनावलाई धेरैले व्यवसायीको चुनाव मात्रै होइन मारवाडी समुदाय र नेवार समुदायबीचको प्रतिस्पर्धाका रुपमा पनि लिएका छन् । यस पटकको महासंघ निर्वाचनमा नेवार समुदायका उम्मेदावारहरु बढी छन् । पदाधिकारीका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरु नेवार समुदायबाट प्रतिनिधित्व गर्छन् । पदाधिकारीमा मारवाडी समुदायबाट संघई मात्रै हुन् ।

त्यसैले पनि संघईले आफुले यस पटक जित्नै पर्ने र त्यसका लागि मारवाडी समुदायको मत एकलौटी रुपमा आफुलाई आउनु पर्ने धारणा आन्तरिक फोरमहरुमा राख्दै आएका छन् । मारवाडी समुदायको साथका कारण माहोल आफ्नो पक्षमा पार्ने संघईको रणनीति छ । हालका अध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्ष पशुपति मुरारका पनि मारवाडी समुदायबाट प्रतिनिधित्व गछर्न । तर, उनीहरु कुनै पनि समूहमा देखिएका छैनन् । तर, संघईले आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा गोल्छाको साथ आफुलाई रहेको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.